द झुण्डिएको लालको विन्ति-पत्र !

दैनिक तपाईका जुत्ता
जिब्रैले चाटेर टल्काउँला मालिक
हजुरको आदेश नपाई
शौच पनि नगरौंला
हजुरको जय जय नगरी
हरेक विहान पानी पनि नपिउँला
यो झण्डाको त के भर भयो र मालिक
यो त देखाउनको लागि न हो
सत्य सत्य भगवान कसम मालिक
मलाई हजुरको आजीवन दास बन्ने रहर छ
मलाई तथास्तु भनिदिनोस मालिक !

बर्गका कुरा अव
उहिलैका कुरा भैसके मालिक
ती खुइलिएर खलपत्र भैसके
हजुरको आकास छुने दरवारकै नजिक
एउटा झुप्रो हाल्न पाऊँ मालिक
सेवामा हाजिर हुन पनि नजिक पर्छ
हजुरलाई पनि नजिक पर्छ
मलाई पनि सजिलो हुन्छ
म त हजुरको हातको लौरो न हु मालिक
झट्टी हान्नु पर्दा काम लाग्छ
लौरोलाई नजिकै राख्नोस मालिक !

हजुरका जस्तै मेरा पनि
श्रीमती छन, छोरा छोरी छन
शशुराली छन , साला साली छन
दाजु भाइ छन सगोत्री छन
हजुरकै परिवारलाई जत्रो त किन भनौंला र
यसो गौंडा गल्थामा अल्झाउँनु थियो मालिक
मैले माओ भने पनि हजुर
मैले मालिक भने पनि हजुर
कमरेड भन्न लाज लाज लाग्छ
लालसलाम भन्दा नमस्कार नै प्यारो लाग्छ
हजुरको मन बुझेर भनेको हुँ मालिक
अर्को पटक के हो कसो हो
यहीं पटक नबिर्सनुस मालिक
यसो म पनि केही तरक्की गर्न पाऊँ
मर्ने वेलामा पनि
मालिक सम्झेर मर्न पाऊँ
हजुरलाई संझने को नै छ र अरु ?
म नै त हुँ परम भक्त
विन्ति मालिक
हजुरको दिसा पनि धोउँला
गर्नु नगर्नु जम्मै गरौंला
यो द झुण्डिएको लाललाई दया गर्नुस मालिक !

३ जेठ २०७६
सुवर्ण चोक, भक्तपुर

Loading...