प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संसद घेराउ गर्न बानेश्वर पुगे पत्रकारहरु

काठमाडौं, ३ जेठ । सरकारले ल्याएको मिडिया काउन्सील विधेयकका विरुद्ध पत्रकारहरुले संसद भवन घेर्ने कार्यक्रम अगाडि बढाएका छन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा संसद भवन घेराउ गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले नयाँ बानेश्वर चोकभन्दा अगाडि नै रोकेपछि त्यही कोणसभा गरिएको छ ।

सरकारले प्रेसलाई नियन्त्रण गर्ने र कडा दण्ड सजाय दिने लगायतका प्रावधानहरु राखेर मिडिया काउन्सील विधेयक ल्याएपछि त्यसका विरुद्ध देशभर पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । अहिले भइरहेकै प्रेस काउन्सीलमा सरकारको चर्को हस्तक्षेप भएको भन्दै आलोचना भइरहेका बेला अहिले ल्याइएको विधेयकमा काउन्सीललाई सरकारले आफ्नो खल्तीमै हाल्ने प्रयत्न गरेको पत्रकारहरुको बुझाइ छ । साथै मिडियालाई जिम्मेवार बनाउने भन्दा आलोचनात्मक विशेषता हुनै नदिने गरी धेरै प्रावधानहरु यसमा राखिएका छन् । साथै मिडिया र मिडियाकर्मीहरुलाई जतिबेला पनि जेल पठाउन सक्ने, लाखौ जरिवाना तिराउने र सञ्चारका साधन समेत जफत गर्ने नियतका साथ कतिपय प्रावधानहरु यस विधेयकमा राखिएका छन् ।

अहिले ल्याइएको विधेयक हदैसम्मको निरंकुश र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । सोही क्रममा शुक्रबार दिउसो नयाँ बानेश्वरमा पत्रकारहरु संसद घेराउ गर्न पुगेका हुन् । मुखमा कालोपट्टी, छातीमा पत्रकारहरुले मिडिया काउन्सिल विधेयक खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रता जिन्दावाद लेखिएका प्लेकार्ड टाँसेर पुगेका सञ्चारकर्मीहरुले प्रहरीको छेकबार अगाडि सडकमै प्रदर्शन गरेका थिए । सडकमा कालो ब्यानर र सञ्चार साधनहरु राखेर प्रदर्शन गरेका पत्रकारहरुले सरकारले यो विधेयक फिर्ता लिनुपर्ने माग गरेका थिए ।

सो क्रममा आयोजित कोण सभालाई नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरुले आआफ्नो ऐक्यवद्धता मन्तव्य राखेका थिए । धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरु, मानव अधिकारकर्मीहरु सितिमिति सडकमा नआउने बताउँदै अति नै भएपछि मात्रै सडकमा आएने बताए । उनले पत्रकारहरु प्रेसको बचाउ र आम नागरिक अधिकारको पक्षमा सडकमा आएको बताए ।

उनले भने, हाम्रो संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता भनेर लेखिएको छ । मानव अधिकारको प्रत्याभूति गरिएको छ । तर अहिले प्रेसलाई अंकुश लगाउने गरी संसदमा विधेयक दर्ता गरिसकेपछि हामीले विभिन्न ढंगले आवाज उठायौं, ध्यानाकर्षण पत्र बुझायौँ, ज्ञापनपत्र बुझायौँ तर कुनै पनि सुनुवाई नभएपछि बाध्य भएर आज हामी सडकमा आउनु परेको छ ।’

कोणसभामा मानव अधिकारवादी कपिल श्रेष्ठ, चरण प्रसाई, डा. सुन्दरमणि दिक्षित लगायतले पनि सम्वोधन गरेका थिए ।

Loading...