तालमा डुबेर ९ महिना पत्ता नलागेको मान्छे रोबोटले पार्यो फेला

काठमाण्डौ । सोलुखुम्बुको गोक्यो तेश्रो तालमा ९ महिनाअघि डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ ।

विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिए । अब शव भेट्न बाँकी एक जनाको खोजी भैरहेको छ ।

हिजोदेखि नै खोजी सुरु गरेको टोलीले आज बिहान शव बाहिर निकालेको हो । बराइली साथीको उद्धार गर्न जाने क्रममा शरीरमा लगाएको कपडासहित डुबेका थिए । त्यसै आधारमा उनको पहिचान गरिएको हो । बेपत्तामध्ये अब पेम्बा दोर्जी शेर्पाको शव मात्र भेट्न बाँकी छ ।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले हिजो दिनैभर रोबोट तथा अन्य उपकरण प्रयोग गरी शवको खोजी गरेको थियो ।

Loading...