कञ्चनजंघा चढेर फर्कदै गर्दा २ भारतीय पर्यटकको मृत्यु, चिलीका पर्यटक चुचुरोबाटै वेपत्ता

काठमाडौं, २ जेठ । माउन्ट कञ्चनजंघा हिमाल आरोहणका लागि गएका २ जना अाराेहीकाे मृत्यु भएकाे छ। मृत्यु हुने दुबै जना भारतीय नागरिक रहेकाे खुलेकाे छ ।

यस वर्षको सिजन सुरु भएसँगै कञ्चनजंघा आराेहणका क्रममा उनीहरुकाे बुधवार राति मृत्यु भएको पर्यटन विभागले जनाएकाे छ । कञ्चनजंघा हिमाल विश्वकै तेस्रो अग्लो हिमाल हाे। यसको उचाइ ८ हजार ५ सय ८६ मिटर रहेको छ।

विभागका अनुसार उनीहरु कञ्चनजंघा आरोहण सकेर फर्किने क्रममा मृत्यु भएकाे हाे । मृत्यु हुनेमा ४८ वर्षका विप्लव वैद्य र ४६ वर्षका कुन्ताल करार रहेका छन । उनीहरु दुबै जनाको ८ हजार मिटरभन्दा माथि मृत्यु भएको बुझिएकाे छ ।

यसैगरी कञ्चनजंघा आरोहणकै क्रममा दक्षिण अमेरिकी मुलुक चिलीका एक पर्यटक सम्पर्क विहीन भएका छन् । चिलिका रोडरिगो भिभ्यान्को नाम गरेका पर्यटक चुचुरोमा पुगेपछि सम्पर्कविहीन भएकाे पर्यटन विभागले जानकारी दिएकाे छ ।

त्यसैगरी अाराेहणका क्रममा विरामी भएका एक जर्मनी र दुई भारतीय नागरिकलाइृ उद्धार गरिएकाे पर्यटन विभागले जनाएकाे छ । विभागले उनीहरुलाइ कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याउन लागेकाे हाे ।

यस वर्ष कञ्चनजंघा हिमाल आरोहणका लागि ६ आरोहण टिममा ३४ आरोहीहरुले आरोहणको अनुमति लिएका छन्।

त्यसैगरी विश्वकै अग्लो शिखर सगरमाथामा यस सिजन ५३ जना आरोहीहरुले सफल अाराेहण गरेका छन्। सुरुमा बाटो बनाउने गएका ८ नेपाली हाइ अल्टीच्यूड गाइड आरोहीसहित ५३ आरोहीहरुले सगरमाथा चुचुरोमा पुगेकाे पर्यटन विभागले जनाएकाे छ ।

त्यस्तै कञ्चनजंघा हिमालमा यस सिजन ४३ जनाले आरोहण गरेका छन् भने मकालुमा ३२ र ल्होत्सेमा १२ जनाले आरोहण गरिसकेका छन्।

Loading...