बाटो बनाउदै यो सिजनको पहिलो टोली पुग्यो सगरमाथा चुचुरो

काठमाडौँ, ३१ बैशाख । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा यस सिजन पहिलाेपटक ८ जना नेपाली उक्लिन सफल भएका छन् । ८ जना हाई-अल्टिच्यूट गाइडले बाटाे छिचाेल्दै सगरमाथामा चढेपछि अब यस सिजनका लागि अरु अाराेहीहरुका लागि बाटाे खुलेकाे छ ।

सगरमाथा आधारशिविरमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले मंगलवार १ बजेर ४५ मिनेटमा चुचुरोमा ८ जना हाई-अल्टिच्यूट गाइड चुचुराेमा पुगेकाे जानकारी दिइन ।

सिजनकाे पहिलाे पाइला चुचुराेमा टेक्नेहरुमा दाेलखाकाे लामाबगरका सिद्ध बहादुर तामाङ, मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङ फुर्वा शेर्पा, सोलुखुम्बुको खुम्जुङका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा रहेका छन । उनीहरु सबै जना काठमाडौंको हिमालयन गाइड्स नामक एक्सपिडीसन कम्पनीमा आवद्ध हाई-अल्टिच्यूट गाइड रहेकाे अाचार्यले जानकारी दिइन ।

उनीहरुले बाटाेमा डाेरी लगाउँदै बाटाे खाेलेर अघि बढेका र अब अन्य विदेशी तथा स्वदेशी आरोहीहरु उनीहरुले राखेकाे डाेरीकै सहायताले चुचुराेमा पुग्नेछन् । गाइड सिद्धबहादुर तामाङको नेतृत्वमा पुगेकाे टोलीले ६२ सय मिटर उचाइमा रहेको दोस्रो शिविरदेखि माथि डोरीले बाटो बनाउने जिम्मा लिएको थियो । ५२ सय मिटर उचाइमा रहेको आधारशिविदेखि दोस्रो क्याम्पसम्म अत्याधिक भर्‍याङ राख्नु पर्ने भएकाले त्यो खण्डको जिम्मा सगरमाथा पोलुसन कन्ट्रोल कमिटीले लिएको थियो ।

शुक्रबारसम्म चुचुरोमा चढ्ने बाटो बनाइसक्ने योजना बनेकाे भए पनि मौसमी खरावीका कारण पूरा हुन सकेकाे थिएन । बाटाे बनाउने जिम्मा लिएकाे नेपाली टोली ५ दिन ढिलो भएको थियाे । हाइ अल्टीच्यूड गाइडहरुकाे टोली १३ दिनअघि ८ हजार मिटर उचाइमा पर्ने साउथकोलसम्म बाटो बनाउँदै त्यहाँ पुगेको थियो । प्रत्येक वर्ष सगरमाथा आरोहण अघि बाटो बनाउनु पर्छ । सरकारले वर्षमा चार महिना हिमाल आरोहण खुला गर्ने गरेकाे छ ।

मंगलबार बिहान नै उता संसारकै चौथो अग्लो हिमाल ल्होत्सेमा पनि यस सिजनको पहिलो नेपाली टोली पुगेकाे थियाे । त्याे टाेलीले पनि बाटो बनाउँदै चुचुराेमा पुगेको हाे । लाेत्से उक्लने बाटाे पनि साउथकोलबाटै छुट्टिन्छ ।

यस सिजन सगरमाथा आरोहणका लागि ३ सय ७७ जनाले अनुमति लिएका छन् । आधारशिविरमा गाइड, भरिया, कुल्ली, किचन, हेल्पर, सम्पर्क अधिकृतसहित करिब १५ सय हाराहारीमा मानिस पुगेका छन् ।

Loading...