खै के लेखौं

खै के लेखौं,
माया, विछोड, अपनत्व वा तिरस्कार
अभाव, पिडा, दु:ख वा चित्कार
वा देशप्रेम र राष्ट्रभक्तीका कथाहरू
तिमी नै भन,
म के लेखौं ?

गोविन्द रिजाल

असंख्य विषयको रासमाथि उभिएर
न त कुनै विषय नै छ लेख्नलाई बाँकी
न सोच्न सक्छ केही खाली दिमागले
यस्तै शुन्यता र अन्यौलमा वसेर
तिमी नै भन,
म के लेखौं ?

तुषारोको शैयामा, शितको ओढ्ने ओढेर
रात कटाउनेको व्यथा लेखौं
वा भोको पेटमा पटुकि कसेर
देशभक्तिको गित गाउनेको कथा लेखौं
तिमी नै भन,
म के लेखौं ?

कसैको खोक्रो उक्साहटमा
सडकमै मर्नेको जवानि लेखौं
वा जनताको काँधको सिढी चढेर
सत्तामा पुग्नेको कहानि लेखौं
तिमी नै भन,
म के लेखौं ?

सुन्दर भविष्यको कल्पनामा
विदेशिनेहरूको नाम लेखौं
वा दुई किलो चामलको आशमा
खाद्य डिपोमा धाउनेहरूको लाम लेखौं
तिमी नै भन,
म के लेखौं ?

खुलामञ्चको भिडमा उभिएको
अमुक नेताको झुठो भाषण लेखौं
वा गरीबसम्म कहिल्यै नपुग्ने
सिंहदरबारको शासन लेखौं
तिमी नै भन,
म के लेखौं ?

अनेक विषयको माझबाट
न छनौट गर्नसक्छु म कुनै विषय
किंकर्तव्यविमुढ र विवश मन लिएर
न व्यक्त गर्नसक्छु म मेरा भावनाहरू
यस्तो बेलामा, तिमी नै भन,
म के लेखौं ?

Loading...