पेप गार्डिवलाको म्यानचेस्टर सिटी बन्यो लगातार दोस्रो सिजन प्रिमियर लिग च्याम्पियन

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलकाे उपाधि म्यानचेस्टर सिटीले जितेकाे छ । पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले लगातार दोस्रो सिजन पनि याे लिगको उपाधि जितेको हाे ।

आइतबार राति भएको सिजनको अन्तिम खेलमा सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि हात पारेकाे हाे । सिजनकाे याे अन्तिम खेल नै उसका लागि निकै महत्वपूर्ण बन्यो । खेलकाे सुरुमा पछि परेर पनि सिटीले अन्तिममा जित निकालेकाे हाे ।

अवे मैदानमा भएको खेलमा ब्राइटनका ग्लेन मुरेले २७ औँ मिनेटमा गोल गर्दै अाफ्नाे टिमलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि ब्राइटनले अाफ्नाे सुरुवाती अग्रता कायम राख्नसकेन र अन्तिमसम्म ४–१ ले पछि पर्याे ।

२७ औँ मिनेटमा ब्राइटनले गाेल गरेकाे एक मिनेटपछि नै सिटिका सर्जियो अग्युरोले गाेल गरेर खेललाइ बराबरीमा ल्याए । त्यसपछि ३८ औँ मिनेटमा इमरिक लेपोर्टले गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता लियो ।

दोस्रो हाफमा सिटीले थप दुई गोल गरेको हो । उसका लागि रियाद महरेजले ६३ तथा इल्कायी गुन्डोगानले ७२ औँ मिनेटमा गोल गरे र टिम ४–१ ले विजयी भयो । यो जित लिभरपुललाई पछि पारेर जित निकाल्न पर्याप्त भयो ।

लिभरपुललाई एक अंकले पछि पार्दै सिटीले उपाधि जितेको हो । सिटीको ९८ तथा लिभरपुलको ९७ अंक भयो । पछिल्लो १० वर्षमा लगातार दुई सिजन प्रिमियर लिगको उपाधि जित्ने म्यानचेस्टर सिटी पहिलो टिम हो । १० वर्षअघि म्यानचेस्टर युनाइटेडले लगातार उपाधि जितेको थियो ।

Loading...