चेन्नईलाई पराजित गर्दै मुम्बई इन्डियन्स बन्यो आइपिएलको विजेता

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटकाे १२ औँ संस्करणकाे उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनलमा मेहन्द्र सिंह धोनी कप्तानीको टिम चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गर्दै रोहित शर्मा कप्तान रहेको मुम्बई इन्डियन्सले उपाधि हात पारेको हो ।

मुम्बईले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४८ रन मात्रै बनाउन सक्यो । उसका लागि शेन वाट्सनले सर्वाधिक ८० रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।

वाट्सनले ५९ बलमा ८ चौका र चार छक्काको सहयोगमा ८० रन बनाएका हुन् । यस्तै फाप डू प्लेसिसले १३ बलमा २६ रन बनाए । कप्तान धोनी ८ बलमा मात्रै दुई रन बनाएर आउट भए । डवेन ब्राभोले १५ बलमा १५ रन बनाएका थिए । मुम्बईका जसप्रित बुमराहले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । उसका लागि किरोन पोलार्डले २५ बलमा तीन चौका र तीन छक्काको सहयोगमा नटआउट ४१ रन बनाए ।यस्तै क्वीन्टर डी ककले १७ बलमा २९, इशान किशनले २६ बलमा २३, कप्तान रोहित शर्मा र सूयकुमार यादवले १५–१५ तथा हार्दिक पाण्डेयले १६ रनको योगदान दिए ।

पहिलो क्वालिफायरमा मुम्बईसँगै पराजित भएको चेन्नई फाइनलमा पनि पराजित भयो । यो सिजन चार भेटमा चारैपटक मुम्बईले चेन्नईलाई हराएको हो । फाइनल जितसँगै मुम्बई आइपिएलको इतिहासमा सर्वाधिक सफल टिम बनेको छ । उसले चौथो पटक उपाधि जितेको हो । यसअघि मुम्बई र चेन्नईले तीन–तीनपटक उपाधि जितेका थिए ।

Loading...