असनको ऐतिहासिक सम्पदा मिचेर षडयन्त्रपूर्वक व्यापारिक मल बनाउने षडयन्त्र, विरोधमा उत्रिए स्थानीयवासी

 

काठमाडौँ, २८ बैशाख । गुठी संस्थान आफैले ऐतिहासिक सम्पदाहरु मास्न भूमिका खेल्न थालेकाे भन्दै संरक्षणकर्ताहरुले अापत्ती जनाएका छन् । विगतमा जनताकाे जग्गा अधिग्रहण गरी बनाइएका थुप्रै ऐतिहासिक संरचनाहरु संस्थानकै कारण मासिदै गएकाे संरक्षणकर्ताहरुकाे गुनासाे छ ।

काठमाडाैं उपत्यकाका थुप्रै ऐतिहासिक सम्पदा र परम्परालाई बचाउन विगतमा जनताले अाफ्नाे सम्पत्ति बुझाएका थिए । साेही मध्येअसन बजारको ऐतिहासिक कोथुननी धार्मिक बिहार हाे । उक्त बिहारलाइ गुठी संस्थानले एक सहकारीलाई ‘लीज’ मा दिएर व्यापारिक ‘कम्प्लेक्स’ बनाउन लागेकाे छ । ब्यापारिक कम्प्लेक्स बनाउने नाउमा उक्त बिहारमा रहेकाे पाँच सय पुरानो अशोक वृक्ष विहार भत्काउन उनीहरु अहिले लागि परेका छन । ऐतिहासिक संरचना भत्काउन लागिपरेपछि सम्पदाप्रेमी स्थानीयवासी अहिले आन्दोलित भएका छन् ।

परापूर्ब कालदेखि ब्यापारिक केन्द्रको रुपमा स्थापित घडी घर भनेर चिनिने असन बजारको ऐतिहासिक ‘कोथुननी धार्मिक बिहार’ मासेर ब्यापारिक कम्प्लेक्स बनाउन विभिन्न निकायको समेत मिलेमतो रहेकाे बुझिएकाे छ । त्यसमा ठूलै माफियाको जालो महानगरपालिकादेखि गुठी संस्थानसम्म फैलिएको सम्पदा बचाऊ अभियन्ताहरुको आरोप छ । 

यसैबीच शुक्रबार खुल्ला असन बजारबीचमा बिरोध सभा सम्पन्न गरिएकाे छ । कोठुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीले २०७० फाल्गुनमा गुठी संस्थानसँग भएको सम्भौतामुताबिक भूबहाल कर बुझाउञ्जेलसम्म सन्तान दरसन्तानले त्यही घरमा बस्न पाउने दावी गरे । ‘पुरानो घरहरु मर्मत या पुनर्निर्माण गर्नुपरे पनि स्थानीयलाई प्राथमिकतामा राख्नुपर्ने भन्ने सम्झाैतामा उल्लेख छ’, उनले भने।

पुस्तौदेखि भोगचलन गर्नुका साथै संरक्षण गर्दै आएका स्थानीय बज्राचार्य परिवारसँग करार सम्झौता कायमै रहेकाे भित्र गुठी संस्थानले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग सम्झौता गरेर ब्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता गरी घर खाली गर्न म्याद पुर्जी जारी गरेपछि स्थानीयहरु सम्पदा बचाउ अभियानमा लागेका हुन् । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सांसद रामबीर मानन्धरले असन जस्तो ऐतिहासिक सम्पदा क्षेत्रमा कुनै पनि हालतमा ब्यापारिक कम्प्लेक्स बनाउन नहुने बताए । सांसद मानन्धरले असनको कोथुननी बचाउनका लागि आफ्नो तर्फबाट समर्थन र सहयोग रहने बताए ।

त्यसैगरी नेपाली कांग्रेसका सांसद पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सम्पदाहरु बचाई राख्नका लागि बृहत संगठनको आवस्यकता रहेको बताए । यसैगरी समाजवादी नेपालकी केन्द्रीय सचिव हिसिला यमीले असनमा ब्यापारिक कम्प्लेक्स नभई सम्पदा क्षेत्र बनाइनुपर्ने माग गरिन।

बिरोध कार्यक्रममा काठमाडौँ क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठ, पूर्वमन्त्री तीर्थराम डगोल, ३ न.प्रदेशया सांसद राजेश शाक्य, गुठी संस्थानका पूर्व प्रमुख पञ्चलाल महर्जनको उपस्थित रहेको थियो । 

ऐतिहासिक कालदेखि नै व्यापारिक केद्रका रुपमा रहेको व्यापारिक घडी घर नेवार समुदायको स्वामित्वमा रहेको थियाे । उक्त घर पछि रणबहादुर शाहले अतिक्रमण गरेर ‘श्री ५ को वायु देवता गुठी’को नाममा चलाएकाे स्थानीय गुठियारहरु बताउँछन् । उक्त गुठी चलाउनकै लागि खटाइएका तालुकदार घरमा रेखदेख गर्दै वर्षौंदेखि बसिरहेकासँग भाडा उठाउँने गर्दथे । राजा वीरेन्द्रका पालासम्म पनि सुसारेहरु यही घरमा बस्थे । जसले दरबारमा कोही कसैको मृत्यु भएमा वायु शान्ति गर्न हनुमानढोकामा पूजा लैजाने गर्दथे । 

आठ आना तीन दाम क्षेत्रफलमा फैलिएको घडी घरमा सैयौँ वर्षदेखि बस्दै आएका उनीहरुले नै अहिलेसम्म सबै रेखदेख गर्दै आएका छन् । सांस्कृतिक, परम्परा, धार्मिक पुरातात्विक महत्वसमेत संरक्षण तथा संचालनको जिम्मेवार निकाय गुठी संस्थान आफै नै ब्यापारिक प्रयोजनका लागि करारमा दिन लागिपरेको भन्दै स्थानीय सम्पदा बचाऊ अभियानकर्ता आक्रोशित भएका छन् ।

Loading...