जापानकाे नारितामा पनि नेपाल एयरलाइन्सले उडान गर्ने

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान आउँदो असार तेस्रो साताबाट पुनः सुरुवात गर्ने भएको छ । ओसाका उडानलगत्तै जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडानको तयारी गर्ने निगमको योजना छ । निगमले टोकियोको नारितामा उडान अनुमति पाएपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई उडान गर्ने योजना रहेको पनि जनाएको छ ।

स्थापनाको ६१ औं वर्ष प्रवेशका साथै ओसाका उडान गर्न लागेको भन्दै निगमले पहिलो चरणमा असार १९ गते (जुलाई ४) देखि नियमित उडान प्रारम्भ गर्ने जनाएको छ । ओसाकाको सबै उडानहरू वाइडबडी ए३३०–२०० बाट हुने भन्दै निगमले हाल निर्धारित उडान तालिकाअनुसार हप्ताको तीनवटा उडान मंगलबार, बिहीबार र शनिबार हुने जानकारी दिएको छ । काठमाडौंबाट बिहान २ः३० बजे ओसाकाका लागि उड्ने विमान स्थानीय समयअनुसार दिनको ११ः५५ मा ओसाका पुग्नेछ । ओसाकाबाट स्थानीय समयअनुसार १ः५५ मा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे जहाज काठमाडौं आइपुग्ने निगमले जनाएको छ ।

यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको निगमले तत्कालीन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरेको थियो । सन् २००० मा जापानबाट काठमाडौंका लागि सबैभन्दा बढी ४१ हजार ७० जनाले नेपाल यात्रा गरेका थिए । जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाटमात्रै करिव २२ हजार यात्रु आएका थिए । राष्ट्रिय ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६ सय १३ यात्रुमा सीमित भएको थियो । निगमले सिधा उडान सुरु गरेपछि फेरि यात्रु संख्या बढ्ने अपेक्षा पनि गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेकोले पनि राष्ट्रिय ध्वजावाहकको जापान उडानले बौद्धमार्गी जापानी यात्रुको नेपाल आगमन बढ्ने अपेक्षा पनि गरिएको छ ।

निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने पनि अपेक्षा गरेको छ । निगमको गृष्मकालीन तालिकाअनुसार काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एकतर्फी करिब ६ घण्टा ३० मिनेटको हुनेछ ।

काठमाडौं ओसाकाबीच सन् १९९४ मा सुरु भएको उडान २००७ सम्म नियमित थियो । विगतमा बोइङ ७५७ जहाजबाट गरिने उडान अब भने एयरबसका नयाँ वाइडबडी विमानबाट हुने भएकाले यात्रुका लागि झनै आनन्ददायी हुने अपेक्षा गरिएको छ ।

निगमले नाफामूलक गन्तव्यमा उडान गर्न नसक्दा र पूर्ण क्षमतामा जहाज उडाएर लाभ लिन नसक्दा जहाज खरिद गर्दाको ऋण तिर्न समस्या परेको छ । जापानको सीधा उडानले निगमलाई ठूलो राहत हुने तथा जहाजका रोकिएको किस्ता तिर्न पनि सहज हुने आकलन गरिएको छ । निगमको वाइडबडीबाट अपेच्छाकृत रूपमा उडान विस्तार गर्न नक्दा यसले लाभ लिन नसक्दा यसका न्यारोबडी र वाइडबडी दुबै प्रकारका जहाजको किस्ता हाल रोकिएको छ ।

निगमका अनुसार सरकारसँग मागिएको २० अर्ब रुपैयाँ निकासा नभएसम्म तत्कालका लागि निगमको समस्या समाधान हुँदैन । सरकारले अहिले निगमलाई अप्ठेरो परेको अवस्थामा २० अर्ब रुपैयाँ दियो भने नाफा कमाएपछि फिर्ता लान सक्छ । अहिले निगमलाई किस्ता तिर्न अप्ठेरो परेको अवस्थामा सहयोग गरेन भने विस्तारै कर्मचारीलाई तलब दिन नै समस्या हुने जनाइएको छ । यो अवस्था आउन नदिन र निगमलाई ऋण वापतको किस्ताको रकम कम गर्न पनि सरकारी रकम आवश्यक भएकोले निगमका कार्यकारी अध्यक्ष मदन खरेल बताउँछन् । निमगले कर्मचारी संचय कोषलाई १ अर्ब १८ करोड र नागरिक लगानी कोषलाई ७३ करोड गरेर कुल १ अर्ब ९१ करोड रुपैयाँ किस्ता तिर्न बाँकी रहेको जनाएको छ ।

Loading...