भवनको जग खन्दा भेटियो २५ तोला सुन, ३० तोला चाँदी

सुन भेटिएको ठाउँमा थियो १५ औ शताब्दीका राजा सूर्य मल्लको श्रीकोटमा दरबार

अछाम । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।

भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरमा भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो भने उनीहरुको साथमा रहेको सुन प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको थियो ।

क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेर जमीनमुनि अझै पनि जमीनमुनि सुन रहेको आशङ्कामा माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिए । जमीनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले जानकारी दिए ।

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सुन भेटिएको श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पस भवन निर्माणस्थलको स्थलगत अवलोकन गरेका छन् । सुन भेटिएको स्थानको निरीक्षणपछि नेता रावलले पुरातात्विक गहनाको संरक्षणका लागि श्रीकोटमा सङ्ग्रहालयको स्थापना गर्नुपर्ने बताए ।

त्यसका लागि आफूले पहल गर्नेसमेत उनले बताए । उनले श्रीकोटमा पुरातत्व विभागको नियमअनुसार जिल्लामा नै उक्त सुनचाँदी राख्नका लागि पहल गर्नेसमेत बताए ।

विसं १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिञ्जाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यसबेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयवासी बताउँछन् ।

पछि गएर स्थानीयवासीले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्वकालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । विसं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।

Loading...