जनकपुरधाम जानकी नवमी एवं जन्म महामहोत्सव

जनकपुर २७, बैशाख । जनकपुरधाम आदर्शको पुञ्ज रामायणकालीन नारी सीताको जन्मदिनको अवसरमा जनकपुरधाममा जानकी नवमी एवं जन्म महामहोत्सव धुमधामसहित मनाइँदै छ। रामायणकालमा माता सीताको मिथिलाको भूमिमा राजा जनकले हलो चलाउँद जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ। मिथिलाका राजा जनकका सुपुत्रीको रूपमा जगत जननी जानकीको पृथ्वीवाट राजर्षि जनकले हलो जोत्ने क्रममा प्रादुर्भाव भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख रहेको छ।

वैशाख शुक्लपक्ष नवमी तिथिका दिन भएको मान्यताअनुसार प्रत्येक वर्ष जानकी जन्मोत्सव भव्यरूपमा जनकपुरधाममा मनाउने गरिएको छ। नेपाल तथा भारतको विभिन्न स्थानहरूबाट आएका श्रद्धालु भक्तजनहरूले जनकपुरधामको पवित्र नदी तथा तलाउहरूमा स्नानगरी पूजापाठ गरेका छन्। जनकपुरधामको गंगासागर, धनुषसागर, रत्नसागर, विहारकुण्ड, दुग्धमतीसहितको पोखरी तथा सरोवरमा गई स्नान गरेर जानकी मन्दिरमा माता जानकी तथा राममन्दिरमा भगवान रामको विषेश पूजापाठ गरेर श्रद्धाभक्तिपूर्वक जानकी नवमी पर्व मनाइरहेका छन्।

जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिरलगायत मन्दिरहरूमा पूजाआजा गर्ने श्रद्धालुहरूको भिड लागेको छ। सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नव दुलहीझैँ सिँगारिएको छ। विगतका वर्षहरूमा औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी यस वर्ष विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाइँदै छ।

सीताको जन्मोत्सवमा सहभागी हुन तथा पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटकहरु जनकपुरधाम आएका छन्। जानकी नवमीको अवसरमा मंगलबार प्रदेश नं २ सरकारले सार्वजनिक बिदाको घोषणासमेत गरेको छ। जानकी मन्दिरले १५ दिवसीय कार्यक्रमको आयोजना गरेर मनाइरहेको छ।

यस वर्ष वैशाख २२ गतेदेखि नै सुरु भएको जानकी महोत्सवमा नवाह तथा रामायण पाठ, रामकथा प्रवचन, तथा बधाई मंगलगानसहितका कार्यक्रमहरू भइरहेको छ। यसैगरी जानकी महोत्सवको मुख्य दिन ३० गते जनकपुरधामस्थित दूधमती नदीमा दूधमती शाही स्नान सोही जानकी नवमी महोत्सव तथा रामायण मेला, जानकी जन्म महोत्सव, जानकी जन्म शोभा यात्रा, जानकी जन्म शोभा यात्रा, सन्ध्या आरती, सांस्कृतिक मंगलगान सहितका कार्यक्रम तय गरिएको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए।

यसैगरी, ३१ गते विद्वत गोष्ठी तथा कवि सम्मेलन, मिथिला सांस्कृतिक सन्ध्या, वैवाहिक मटकोर समारोह आयोजना गर्ने भएको छ। जेष्ठ १ गते रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, मिथिला सांस्कृतिक विवाह महोत्सव, २ गते मिथिला चित्रकला प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रम ३ गते गरिब तथा विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ ४ गते जानकी मन्दिरको गर्भगृहमा जानकी जन्म छठिहार समारोहपश्चात विधिवतरूपमा जानकी महामहोत्सव सम्पन्न हुने सहमहन्त रामरोशन दाव वैष्णवले जानकारी दिएका छन।

Loading...