बोनस शेयर वितरण गर्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंक लिमिटेडको १७औं तथा १८औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७३/०७४ र आ.व २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आव २०७३/०७४ को लागि १२ दशमलव ७५ प्रतिशत बोनस शेयर र आव २०७४÷०७५ को लागि ८ दशमलव ५० प्रतिशत बोनस शेयर गरी जम्मा २१ दशमलव २५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड हुनेछ ।

आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा १ अर्ब ४२ करोड तथा १ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

Loading...