हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो चरणमा

फाइनल प्रवेशका लागि चेन्नइसँग भिडन्त हुने

काठमाडौं । नेपाली युवा स्पिनर सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिगको पहिलो इलिमिनेशनमा सनराजर्स हैदरावादलाई पराजित गरेर दोस्रो इलिमिनेशन चरणमा पुगेको छ ।

बुधवार राति भारतको बिशाखा पटनममा भएको खेलमा दिल्लीले हैदरावादलाई २ विकेटले पराजित गरेको हो । निकै रोमाञ्चक बनेको खेलमा दिल्लीले एक बल बाँकी हुँदा १६३ रनको लक्ष्य भेटायो । दिल्लीका लागि पृथ्वी शांले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, दिल्लीलाई जिताउन रिषव पन्तले उत्कृष्ट प्रदर्शन गरे । उनले ४९ रन बनाए । २१ बलको सामना गरेका उनले ५ छक्का र दुई चौका प्रहार गरेका थिए । त्यस्तै, शिखर धवनले १७ रन बनाउँदा कोलिन मुनरोले १४ रन बनाएका थिए । हैदरावादका खलिल अहमद र राशिद खानले समान २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा गरेको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १ ६२ रन बनाएको थियो । हैदरावादका लागि मार्टिन गुप्टिलले ३६, मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सनले २८ रन बनाएका थिए ।

अब फाइनल प्रवेशका लागि दिल्ली दोस्रो क्वालिफायरमा चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नाई र दिल्लीको खेल भोली -शुक्रबार) हुनेछ । यी दुई टिमबीचको विजेताले फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध उपाधिका लागि खेल्नेछ ।

Loading...