‘सर्वरत्‍न’ पुस्तक बिमोचनमा सम्झे शान्ति प्रकृयामा पद्मरत्नको प्रमुख भूमिका

काठमाडौँ, २५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाकाे अझै टुङ्गाे नलागेकाे बताएका छन् । उनले शान्ति प्रक्रियाकाे बाँकी काम मध्ये सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन सम्बन्धी विषय विभिन्न कारणले टुङ्गिन बाँकी रहेका भन्दै याे काम चाँडै नै पूरा गर्नका लागि सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शान्ति प्रक्रिया पूरा हुन बाँकी रहेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको बताए । 

दिवङ्गत मानव अधिकारवादी तथा नागरिक समाजका अगुवा पद्ममरत्न तुलाधरको जीवनीमा जितेन्द्र रसिकद्वारा लिखित पुस्तक ‘सर्वरत्न’को बुधबार लोकार्पण गर्दै दाहालले शान्ति प्रक्रियाकाे बाँकी कामलाई पूरा गर्न ऐन संशोधन गर्दै दुवै आयोग बनाउने प्रक्रिया अघि बढेको जानकारी पनि दिए । 

स्वर्गीय तुलाधरले नेपालको भाषा आन्दोलन, पहिचानको आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै उनले आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन पदमरत्न तुलाधरले पुर्‍याएको योगदानको स्मरण गरे।

आफु भूमिगत अवस्थामा भेटी शान्ति प्रक्रियामा जानुपर्छ भनेर उत्प्रेरित गर्ने, विश्वास र भरोसा पनि गर्ने र कमजोरी केलाउन सक्ने भएकै कारणले तुलाधरलाइ अभिभावकको रुपमा आफुले सम्झने गरेको दाहालकाे भनाइ थियाे । 

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले पनि स्वर्गीय पदमरत्न तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा दिएको योगदानको स्मरण गराए ।


तुलाधरको नेपाली राजनीति तथा सामाजिक क्षेत्रमा दिएको योगदानको बारेमा ब्याख्या गरी लेखिएको यस पुस्तकमा लेखक जितेन्द्र रसिकले पदमरत्नको जीवनकालमा अत्यन्त निकट बनेर त्यसै समयमा किताव लेखिएको जानकारी दिए । साहित्यकार जितेन्द्र रसिकका लज्जावती, अलकापुरी भक्तपुर लगायतका कृतिहरु यस अगाडि सार्वजनिक भइसकेका कृतिहरु हुन् ।

Loading...