ओली सरकार राणा र पञ्चायति शैलीमा हिडेको दावी

काठमाडौ, २५ बैशाख । प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता र जनअधिकार दिनदिनै संकटमा पर्दै गएको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालले काठमाडौंको अनामनगरस्थित संवाद डवलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा बस्नेहरुले आस्था र विचारका आधारमा फरक मत राख्नेहरुप्रति पूर्वाग्रह राखेको आरोप लगाएका छन् । कुनैबेला सांकेतिक रुपमा राजतन्त्रको विरोध गर्दा आफूमाथि राजकाजविरुद्धको मुद्धा लगाइएको स्मरण गर्दै केसीले सत्तामा पुगेर लुट मच्चाउने पात्र फेरिएपनि लुटतन्त्र अन्त्य नभएको धारणा राखे ।

“प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आयो तर शासन सत्तामा बस्नेहरुको चरित्र बदलिएको छैन । कागजमा विभिन्न प्रकारका अधिकार लेखिएपनि व्यवहारमा जनताले अधिकार प्राप्त गर्ने अवस्था सृजना भएको छैन” केसीले भने ।

सांसदहरुको जावाफ दिने क्रममा प्रधानमन्त्रीले गरेको सम्बोधनप्रति संकेत गर्दै केसीले त्यस प्रकारका घटना कुनै व्यक्ति वा पार्टी विशेषको भन्दापनि संसदीय व्यवस्थाको उपज भएको धारणा राखे । उनले व्यंग्य गर्दै भने –“अहिले संसदमा सरकार र प्रतिपक्षको विचमा चलिरहेको जुहारी कहिले सासुको त कहिले बुहारीको पालो भने जस्तो मात्रै हो ।” नेपालमा संसदीय व्यवस्था रहेसम्म नेपाली जनताले वास्तविक रुपमा मुक्ति नपाउने केसीको भनाई छ ।

कार्यक्रमा बोल्दै नेपाल बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले स्वतन्त्र, सक्षम र निर्भिक न्यायालयको अभावमा नेपालमा जनाधिकारको संरक्षण हुन नसकेको बताए । दुई तिहाईको बलमा सरकारले न्यायलयलाई नियन्त्रण र निर्देशन गर्न खोजेको आरोप लगाउँदै उनले भने –“दोस्रो जनआन्दोलनपछि न्यायालयमा राजनीति घुसपैठ हुन शुरु भयो जसका कारण अदालत जनताको पहँुचभन्दा बाहिर पुग्ने खतरा देखापर्दैछ ।”

अदालतको घाँटीमा ‘महाअभियोगको तरवार’ झुण्ड्याएर सरकारले न्यायालयबाट आफु अनुकुल निर्णय गराउने प्रयास गरेको बताउदै पौडेलले न्यायधिस नियुक्तिको वर्तमान प्रक्रिया नै त्रुटीपुर्ण रहेको औल्याए ।

त्यसैगरी जनाधिकार अभियान, नेपालका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संसदीय प्रणाली ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल’ हो भन्ने कुरा पुर्ण रुपमा पुष्टि भएको धारणा राखे । संविधान, कानुन, विधिको शासन, नागरिक अधिकारजस्ता विषयहरु सत्ताधारीहरुले केवल भाषणवाजी, अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित पार्ने औजारका रुपमा प्रयोग गरिरहेको उनको आरोप छ । दुई तिहाइको आडमा ओली नेतृत्वको नेकपाले सरकार, सदन र न्यायालयलाई आफु अनुकुल प्रयोग गरेको भन्दै उनले भने –“आफ्नो सत्ता लम्ब्याउनको लागि उनिहरु जुनसुकै कुरा संशोधन गर्न तयार हुन्छन तर जनताको हितमा सोच्ने, संविधान संशोधन गर्ने, कानुन बनाउने कुरामा सरकारमा बस्नेलाई कुनै सरोकार छैन।” आफैले बनाएको संविधानको मर्म विपरित विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको उनको भनाई छ ।

कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारमा देखापर्ने प्रवृत्ति र नेतृत्व बस्तुतः कम्युनिष्ट नै नभएको ठोकुवा गरे । हजारौंको बलिदानीबाट आएको गणतान्त्रीक युगमा पनि सोचेर, डराएर बोल्नुपर्ने स्थिती हुनु विडम्बनापुर्ण भएको धारणा राख्दै उनले भने–“विप्लव नेकपामाथीको प्रतिबन्ध गलत छ भन्ने कुरा एउटा सामान्य नागरिकले पनि बुझेको छ तर यहि कुरो बोल्दा म बोल्दाबोल्दै गिरफ्तारमा पर्नसक्ने खतरा छ । हामीले कस्तो लोकतन्त्र ल्याएछौं ?”

जनयुद्धकालिन माओवादी आन्दोलनको निरन्तरताका रुपमा आजको विप्लव नेकपा रहेको केसीको बुझाई छ । २१ औं शताब्दिको स्वतन्त्रता भनेको आर्थीक स्वतन्त्रता भएको भन्दै केसीले सबै क्षेत्रमा परनिर्भरता कायम राखेर समृद्धि सम्भव नरहेको बताए ।

कार्यक्रमका अर्का वक्ता नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको सिमा तोक्ने अधिकार कसैसँग नभएको धारणा राखे । पछिल्लो समय विभिन्न बहानामा प्रेस तथा प्रेससँग सम्बन्धित व्यक्तिहरुमाथि भइरहेको धरपकडको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति, राजनीतिक स्वतन्त्रता र जनाधिकार एकआपसमा सम्बन्धित भएको बताए । २०७६ साललाई प्रेसमैत्री कानुन निर्माणको लागि दवाव दिने बर्षका रुपमा महासंघले घोषणा गरेको पोख्रेलले जानकारी दिए ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष डिल्लीराज रावतले आजको नेपालमा नागरिकको स्वतन्त्रता र अधिकारको विषय गम्भिर बन्दै गएको धारणा राखे । जनअधिकारको प्राप्ती र संरक्षणका लागि आफुहरु विगत देखि नै निरन्तर संघर्षमा रहेको स्मरण गराउदै उनले भने– “मानव अधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको संरक्षण गर्ने दायित्व राज्यको हो तर विचार र राजनीतिक आस्थाका आधारमा राज्य संचालकहरु पुर्वाग्रही बनिरहेका छन । तथापी प्रेस स्वतन्त्रताको हाम्रो लडाई सधै परिवर्तन र अग्रगमनतर्फ अघि बढिरहन्छ ।”

संगठनको तर्फबाट प्रेस जगत र नागरिक अधिकारको पक्षमा देशैभर बहस संचालन गर्ने उनले जानकारी दिए । संगठनका उपाध्यक्ष जन्मदेव जैसीले जनताले पुर्ण रुपमा मुक्ति नपाएसम्म कुनै न कुनै रुपमा शाषकहरुबाट अधिकार कटौती भैरहने धारणा राखे । कार्यक्रमको संचालन संगठनका महासचिव बाबुराम भुसालले गरेका थिए ।

Loading...