प्रधानमन्त्रीको टाउकोमा अण्डाले हान्ने युवती पक्राउ

एजेन्सी । अस्ट्रेलियामा दुईसातापछि हुने आम निर्वाचनको अभियानमा रहेका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममा रहेका मरिसनले महिलाहरूसँग कुरा गरिरहेका बेला एक युवतीले टाउकोमा अण्डा हानेकी हुन् । अस्ट्रेलियामा यही मे १८ मा आम निर्वाचन हुँदैछ ।

सञ्चारमाध्यमद्वारा सार्वजनिक भिडियोमा मरिसनलाई प्रहार गरिएको अण्डा नफुटी उछिट्टिएको देखिन्छ । त्यस लगतै भुईँमा खसेको अण्डा घटनास्थलमा रहेका पत्रकारले नफुटेकै अवस्थामा टिपेर देखाएका थिए ।

अण्डा प्रहार गर्ने २५ वर्षीय युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमाथि आक्रमण गर्ने महिलालाई पक्राउ गरेको जनाएको छ ।

‘प्रहरी अधिकारीले अल्बरी काउन्टीको महिला संघको कार्यक्रममा प्रधानमन्त्रीको टाउकोमा अण्डा प्रहार गर्ने महिलालाई नियन्त्रणमा लिएका छन्,’ प्रहरी प्रवक्ताले भने । प्रहरीका अनुसार प्रधानमन्त्रीको सुरक्षा टोलीले अण्डा प्रहार गरे लगत्तै युवतीलाई नियन्त्रणमा लिएका हुन् । मानुस द्वीपका शरणार्थीबारे सरकारी नीतिको विरोधमा आफूले मरिसनमाथि अण्डा प्रहार गरेको युवतीको भनाई छ ।

प्रधानमन्त्री मरिसनले आफूमाथिको आक्रमण ‘कायर’ कदम भएको टिप्पणी गरेका छन् । उनले आक्रमण गर्ने युवतीलाई तत्काल नियन्त्रणमा लिएको भन्दै सुरक्षाकर्मीको प्रशंसा गरे । विपक्षी दलका नेता बिल सर्टनले अण्डा प्रहारको निन्दा गर्दै प्रधानमन्त्रीमाथि ‘अमर्यादित व्यवहार’ गरिएको बताएका छन् ।

मरिसनले घटनाका क्रममा चिप्लेर लडेकी महिलाबारे चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्रीलाई अण्डा हान्ने क्रममा अर्की महिला भुईँमा लडेकी थिइन् । ती महिला मार्गरेट बाक्स्टरले आफूलाई कुनै चोट नलागेको बताएकी छन् । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै बाक्स्टरले ‘आफ्नो केही समयअघि मात्रै पेटको अपरेसन गरेको भए पनि कुनै पीडा नभएको’ बताइन् ।

मरिसन अण्डा प्रहारको सिकार हुने यसवर्षका पहिलो अस्ट्रेलियाली राजनीतिकर्मी हुन् । यसअघि गत मार्चमा सिनेटर फ्रासर एनिङलाई एक युवाले अण्डाले हानेका थिए । अण्डा प्रहार गर्ने १७ वर्षीय युवालाई प्रहरीले सचेत गरेर छाडेको थियो ।

Loading...