रातो मच्छिन्द्रनाथ रथलाई पुल्चोकबाट गाःबाहल पुर्याइदै

ललितपुर २४ बैशाख । वर्षा र सहकालका देवताको रूपमा मानिने रातो मच्छिन्द्रनाथक‍ो रथलाई ललितपुरको पुल्चोकबाट तानेर पाटनको गाःबाहल पुर्याइदैछ । रथारोहण गरेको चौथो दिनमा पाटनको पुल्चोकबाट तानेर वाजागाजा सहित नःटोल हुँदै गाःबाहालमा पुर्‍याउने गरिन्छ ।

ललितपुरको पुल्चोकमा विधिपूर्वक यो रथ तयार गरिएको हो । पुल्चोकबाट आज दिउसो ४ बजे रथलाई तानेर पाटनको गाःबाहालमा पुर्‍याइन्छ। गाःबाहाल पुर्याएको भोलिपल्ट त्यहाँ वरिपरि रहेकाले जात्रा मनाउने गर्ने गर्छन् ।

मच्छिन्द्रनाथको जात्रालाई शान्तिपूर्वक रूपमा सम्पन्न गर्न ज्यापू समाज ललितपुरले जात्रा व्यवस्थापन समिति गठन गरेको छ । ज्यापु समाजले गुठी संस्थानको प्रत्यक्ष निर्देशनमा रही जात्रा संचालन गर्ने जानकारी दिएको छ ।

रातो मच्छिन्द्रानाथको जात्रालाई विश्वको लामो जात्राक‍ो रूपमा लिने गरिन्छ । बाँसको बेट र काठै काठले निर्माण गरिएको रातो मच्छिन्द्रनाथको रथमा एउटा पनि फलामको किल्ला प्रयोग गरेको पाइन्न । यो रथ निर्माण गर्दा शुरूका दिनदेखि नै हालसम्म त्यही प्रविधि अपनाएर बनाउने गरिएको छ ।

संसारको लामो जात्रा र पर्वको रूपमा प्रख्याति कमाईसकेको रातो मच्छिन्द्रनाथलाई हालसम्म विश्वसम्पदामा सूचीकृत गर्न प्रयास गरिएको भए पनि सफल भएको छैन ।

बैशाख २५ गते पुल्चोकबाट तान्दै नगरका नःटोल, गाःबहाल, महापाल, मंगलबजार, हःखा, सौगल, सुन्धारा हुँदै ओकुबहाल, थैना, चक्रबही र लगनखेल पुर्‍याइन्छ । लगनखेल पुर्याएको चार दिनपछि नरिवल खसाल्ने जात्रा हुन्छ।

Loading...