डेब्यू खेलमै सावित्राले ह्याट्रिक गरेर मच्चाइन सनसनी

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी हिरो इन्डियन वुमन्स लिगमा सनसनी मच्चाएकी छिन्। गुरु नायक स्टेडियम लुधियाना, पन्जाबमा जारी खेलमा सेथु फुटबल क्लबबाट डेब्यू खेल खेल्दै सावित्राले ह्याट्रिक गरिन्।

मणिपुर पुलिस स्पोर्ट्सविरुद्ध पहिलो मिनेटमा नै गोल गर्दै सनसनी मच्चाएकी सावित्राले १५औं र ३४औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनी त्यतिकैमा मात्रै रोकिइनन्। पहिलो हाफको इञ्जुरी समयमा पनि एक गोल थपिन्।

सावित्राको चार गोल मद्दतमा सेथुले पहिलो हाफमा ४-२ को अग्रता बनाएको छ। मणिपुरकी बाला देवीले दुई गोल फर्काएकी हुन्।

दोस्रो हाफमा सेथुले २ गोल थप्यो भने मणिपुरले एक गोल थप्यो। समग्रमा सेथु ६-४ ले विजयी रह्यो। खेलको प्लेयर अफ द म्याच चार गोल गरेकी सावित्रा चुनिइन्। खेलपछि प्रतिक्रिया दिँदै उनले आगामी खेलमा पनि यही प्रदर्शनलाई निरन्तरता दिने बताइन्।

नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा नेपालका तर्फबाट सर्वाधिक बढी गोल गर्ने सुचिमा दोस्रो स्थानमा छिन्। सावित्राले नेपालबाट ३० खेल खेल्दै २८ गोल गरेकी छिन्।

गत फागुनमा नेपालमै भएको दक्षिण एसियाली महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरेसँगै सेथुले नेपाली खेलाडीद्वय सावित्रा र अनिता बस्नेतलाई अनुबन्ध गरेको थियो। यस खेलमा क्लबले अनितालाई भने बेञ्चमै राखेको छ।

जारी तेस्रो संस्करणको इण्डियन वुमन्स लिगमा १४ वटा टोलीहरु रहेकाे छन्। सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका टोलीहरुले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुई टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।

कुनैपनि नेपाली महिला फुटबल खेलाडीलाई विदेशी व्यवसायिक क्लबले अनुबन्ध गरेको यो पहिलो पटक हो। उनीहरुलाई क्लबले यस सिजनका लागि अनुबन्ध गरेको हो।

Loading...