किसानलाइ भैसी बाँड्दै सरकार, सरकारले बाँडेको भैसी पाउने यस्तो छ विधि

सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यावसायिक किसानलाई भैँसी वितरण गरेको छ। दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैँसी वितरण गरेको हो।

मन्त्रालयले आज बराहताल गाउँपालिका–१० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैँसी हस्तान्तरण गरेको हो। कृषकमा आधारित भैँसीपालन व्यवसाय कार्यक्रमअन्तर्गत सुर्खेतका कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैँसी हस्तान्तरण गरिएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यलाई भैँसी हस्तान्तरण गरिन्। सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले प्रदेश सरकारको रु ५० लाख, कृषकको रु १० लाख, गाउँपालिकाको रु पाँच लाख र लागत सहभागिताको रु पाँच लाख गरी रु ७० लाखमा भैँसी खरीद गरेर वितरण गरिएको जानकारी दिए।

भैँसी कैलालीबाट खरीद गरी ल्याइएको हो। सहकारीले खरीद गरेका ती भैँसी किसानलाई गोलाप्रथामार्फत छनोट गरिएको थियो। सहकारीका अध्यक्ष सुनारका अनुसार १५ भैँसी दुहुना छन्। वितरण गरिएका भैँसीको सहकारीले बीमा गरिदिएको छ। भैँसी वितरण कार्यक्रममा मन्त्री केसीले किसानको आयआर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रमलार्य निरन्तरता दिने बताइन्।

‘भैँसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई विकास गर्नुपर्छ, यसका लागि किसानले व्यावसायिक घाँस खेतीमा जोड दिनुपर्छ,’ उनले भनिन्, ‘आगामी वर्षको बजेट किसानमुखी भएर बजेटको विनियोजन गरिनेछ।’ सरकारले कृषिमा दिने अनुदान दुरुपयोग नगर्न आग्रह गर्दै भनिन्, ‘भैँसीपालन गरेर आयआर्जन गर्नुस् तर अनुदानमा पाएका भैँसीलाई बिक्री नगर्नुस्।’

Loading...