अस्पतालमा मरेको भन्दै घाटमा लगिएका शिशु खाल्डोमा राख्दा चल्मलाएपछि फेरि फर्काइयो

चितवन, २३ । चितवनमा एक अनौठो घटना देखिएको छ । अस्पतालमा मरेको भनिएका एक शिशु घाटमा लगेर खाल्डोमा हाल्न खोज्दा चल्मलाएपछि फेरि फर्काएर अस्पतालमै ल्याइएको छ ।

चितवन मेडिकल कलेजमा यस्तो घटना देखिएको हो । आइतबार सोही अस्पतालमा जन्मिएकी एक शिशुलाई चिकित्सकले उपचार सम्भव नभएको बताएपछि परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा शिशु जन्माएकी थिइन् ।

शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताए ।

शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । युवती अविवाहिता भएकीले उनको नाम र ठेगाना गोप्य राखिएको उनको भनाइ थियो ।

Loading...