कर बढाउने चीनको निर्णय विरुद्ध ट्रम्पले दिए कडा चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले करिब दुई सय अबै डलरको चीनियाँ वस्तुमा लाग्ने आयात करलाई यसै हप्तादेखि बढाउने बताएका छन् । उनले अमेरिका र चीनबीचको व्यापार सम्झौताको विषयमा चलिरहेको कुराकानी अत्यधिक सुस्त गतीमा अघि बढिरहेको पनि जानकारी दिएका छन् ।

ट्रम्पले आइतबार आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा यसबारे जानकारी दिएका हुन् । उनले लेखे, ‘विगत १० महिनादेखि चीनले ५० अर्ब डलरको वस्तुमा अमेरिकालाई २५ प्रतिशत र दुई सय अर्ब डलरको वस्तुमा १० प्रतिशत ट्यारिफ लागू गरिरहेको थियो । हाम्रो अर्थव्यवस्थाको राम्रो प्रदर्शनका लागि यो पैसा निकै महत्वपूर्ण छ । त्यसकारण शुक्रबारदेखि १० प्रतिशतलाई बढाएर २५ प्रतिशत गरिनेछ ।’

ट्रम्प भन्छन्, ‘चीनबाट ३२५ अर्ब डलरको थप सामान पनि आएको छ जसमा आयात कर लगाइएको छैन तर यसमाथि पनि चाँडै नै २५ प्रतिशतको आयात कर लगाइनेछ । चीनियाँ वस्तुमाथि लगाइएको करको असर मूल्यमा पर्ने छैन । चीनसँग व्यापार सम्झौताबारे छलफल चलिरहेको छ तर यो निकै सुस्त रुपमा अघि बढिरहेको छ । उनीहरु पुनः कुराकानीका लागि कोसिस गरिरहेका छन् ।’

यसअघि यसवर्षको सुरुवातमा ट्रम्पले चीनसँगको कुराकानी जारी रहेकाले आयात करमा वृद्धि गर्न अस्विकार गरेका थिए ।

चीनका भाइस प्रिमियर लियु हि यसै हप्ता कुराकानी अघि बढाउन अमेरिका जाने तयारीमा छन् । ट्रम्पको यो कदमले चीनमाथि दबाब बढ्ने अनुमान गरिएको छ ।

यसअघि अप्रिलमा अमेरिका राजस्व सेक्रेटरी स्टिव म्नुचिन व्यापार सम्झौताबारे कुराकानी गर्न बेइजिङ गएका थिए । उनका अनुसार कुराकानी सकारात्मक भएको थियो ।

अहिलेसम्म अमेरिकाले चीनमाथि व्यापारका लागि गलत तरिका अपनाइरहेको आरोप लगाउँदै आएको छ र २५० अर्ब डलरको चीनियाँ वस्तुमा आयात कर लगाइसकेको छ ।

यसको जवाफमा चीनमा ११० अर्ब डलरको अमेरिकी वस्तुमा आयात कर लगाइएको छ र यसलाई इतिहासकै सबैभन्दा ठूलो व्यापार युद्धको संज्ञा दिँदै यसको आरोप अमेरिकामाथि लगाइएको छ ।

ट्रम्पको यो कदमले चीनबाट अमेरिका निर्यात हुने पाँच हजार वस्तुमाथि असर पर्नेछ । यसमा रसायन, कपडा र उपभोग्य वस्तु संलग्न छन् ।

Loading...