रुसले ठूलो मात्रामा ह्वेल माछालाई खतरानाक जासुसी तालिम दिएको खुलासा

एजेन्सी । आधुनिक युद्धकला र प्रविधिको क्षेत्रमा उच्च विकास गरेको रुसले पछिल्लो समय समुन्द्रको सबैभन्दा ठूलो जीव ह्वेल माछालाई समेत आफ्नो सेनाको जासुसका रुपमा प्रयोग गरेको खुलासा भएको छ । हालै रुसले त्यस्तै जासुसी काममा प्रयोग गरेको एउटा ह्वेल माछा नर्वेको समुन्द्री किनारामा भेटिएपछि त्यसको विश्वभर चर्चा भइरहेको छ ।

नर्वेका विशेषज्ञहरुले आफ्नो देशको समुन्द्री किनारामा एउटा सेतो ह्वेल माछा रुसीको जासुस हुनसक्ने दावी गरेका छन् । उनीहरुले उक्त ह्वेल माछाको शरिरमा विशेष प्रकारको पट्टा लगाएको भेटाएको दावी गरेका छन् । त्यो ह्वेल माछा रुसी नौसेनाले जासुसी तालिम दिएको दावी गरेका छन् ।

के कुनै ह्वेल माछालाई जासुसी कामका लागि प्रयोग गर्न सकिन्छ ?

नर्वेका समुन्द्री जनावरहरुका विशेषज्ञ प्रोफेसर आन्दुन रिकर्डसनले नर्वेमा भेटिएको ह्वेलको शरिरमा लगाइएको पट्टामा गोप्रो क्यामारा राख्ने होल्डर भेटिएको बताएका छन् । जुन होल्डमा सेन्ट पिटर्सबर्गतिर इसारा गर्ने एक लेवल समेत भेटिएको उनले जानकारी दिएका छन् । नर्वेका एक माझीले निकै ठूलो प्रयास गरेर उक्त ह्वेल माछाको शरिरमा लगाइएको पट्टा निकालेका थिए ।

रिकर्डसनले आफूलाई आफ्ना एक रुसी वैज्ञानिक साथीले त्यो ह्वेलमा रुसका वैज्ञानिकहरुले प्रयोग गर्ने जस्तो किट नभएको बताएको जानकारी पनि दिएका छन् । उक्त ह्वेल पाइएको क्षेत्रमा रुसी नौसेनाको एक अड्डा पनि रहेको छ । उनले त्यो ह्वेल दुई–तीन दिनमा नर्वेको किनारमा धेरै पटक आइसकेको जनाएका छन् । त्यो ह्वेल खानाको खोजीमा रहेको र त्यसको मुख खुल्ला रहेको पनि जानकारी दिएका छन् ।

आर्कटिक द्वीप इन्डोयाबाट उक्त ह्वेल धेरै पटक नर्वेको छेउतिर पुगेको बताइन्छ । त्यहाँदेखि ४१५ किलोमिटर टाढा मर्नमास्कमा रुसको उत्तरी फ्लीटको लोकेसन रहेको छ । सेतो ह्वेल आर्कटिकको पानीमा पाइन्छ ।

नर्वेजियन टेलिभिजन एनआरेकेले उक्त सेतो ह्वेलको शरिरबाट रुसी सेनाले लगाएको भनिएको विशेष खालको पट्टा निकाल्दै गरेको भिडियो प्रशारण गरेको थियो ।

कुराकानीमा उनले आफ्ना एक रुसी सहकर्मीले रुसी नौसेनाले सेता ह्वेलहरुलाई केही वर्षसम्म तालिम दिएको जानकारी गराएको पनि उल्लेख गरेका छन् ।

सेनाले समुन्द्री जीवहरुको प्रयोग कसरी गर्छ भन्नेबारे रुसका एक रिजर्व कर्नेलले केही समय पहिले लेखहरु लेखेका थिए । यसअघि उनले धेरै घटनामा आफ्नो धारणा सार्वजनिक पनि गरेका थिए । तर, पछिल्लो समय नर्वेले गरेको दावीका सम्बन्धमा भने कुनै प्रतिक्रिया दिएका छैनन । उनले नर्वेको दावीका बारेमा पनि प्रतिक्रिया नदिएपछि यसलाई केही न केही हो भन्ने अर्थमा हेरिएको छ । त्यो ह्वेल रुसी नौसेनाको फ्लीटबाट निस्केको हुनसक्ने आशंका गरिएको छ ।

रुसी प्रशारण माध्यम गोवोरित मोस्कवासँग कुरा गर्दै कर्नेल विक्टर बैरेन्टेसले भने त्यसलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, “यदि हामी त्यस जीवबाट जासुसी गरिरहेका हुन्थ्यौं भने हामी त्यसमा ‘यस नम्बरमा फोन गर्नुहोला’ भनेको पर्चा लगाएर छोड्थ्यौ होला ।”

उनले आफ्नो सेनामा युद्ध सम्बन्धी कामका लागि डल्फीन समावेश गरिएको बताएका छन् । उनले आफूहरुले त्यो कुरा नलुकाउने पनि बताएका छन् । उनले भनेका छन्, “क्रिमियामा हाम्रो मिलिट्री डल्फिनहरुको केन्द्र छ । त्यहाँ तिनलाई फरक फरक कामका लागि तालिम दिइन्छ । जसमा समुन्द्री सतहको विश्लेषणदेखि एक सीमित जलक्षेत्रको रक्षा, विदेशी गोताखोरहरुलाई ठेगान लगाउन र विदेशी जहाजहरुको तल विष्फोटक लगाउने जस्ता कामहरु समावेश हुन्छन् ।”

क्रिमियाको डल्फिन तालिम केन्द्र पहिले युक्रेनको नियन्त्रणमा थियो तर २०१४ मा यसलाई रुसी नौसेनाले आफ्नो कब्जामा लिएको छ ।

युनिभर्सिटी अफ ट्रम्सोमा पढाउने प्रोफेसर किर्डसनका अनुसार सेतो ह्वेल पनि डल्फिनका जस्तै धेरै बुद्धिमान हुन्छन । त्यसलाई कुकुरलाई जस्तै तालिम दिन सकिन्छ ।

उसो त समुन्द्री जीवहरुको युद्धमा प्रयोग पहिलेदेखि नै हुँदै आएको छ । शीत युद्धको समय अमेरिकी नौसेनाले क्यालिफोर्नियामा डल्फिन जलसिंह (सी लायन्स) हरुलाई तालिम दिने कार्यक्रम सुरु गरेको थियो । समुन्द्री जीवहरुलाई विष्फोटक र अरुहरुका खतरानाक सामानहरु पत्ता लगाउने तालिम दिइएको थियो ।

अमेरिकी नौसेनाको वेवसाइटमा पनि पानी भित्र अवैध रुपमा प्रवेश गर्ने मानिसहरु पत्ता लगाउन पनि यी जीवहरुको प्रयोग गरिएको उल्लेख गरिएको छ ।

२००३ को इराक युद्धमा पनि अमेरिकी सेनाको विष्फोटक पत्ता लगाउने टिमले डल्फिनको सहयोग लिएको थियो ।

Loading...