शिक्षा विकास केन्द्रका इन्जिनियरको शैक्षिक प्रमाणपत्र नै विवादमा

दाताको सहयोगमा कर्मचारीको चरम अनियमितता

भक्तपुर, १७ बैशाख । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा कार्यरत एक कर्मचारीको सर्टिफिकेटमाथि प्रश्न उठेको छ ।

पुरानो शिक्षा विभाग तथा अहिलेको शिक्षा विकास केन्द्रको इन्जिनियर पदमा कार्यरत दिपेन्द्र कुमार देवको शैक्षिक प्रमाणपत्रका बारेमा प्रश्न उठेको हो । देशभर नमूना विद्यालय निर्माणका लागि परामर्शदाता छनौटमा अनियमितता भएको काण्डमा मुछिएका देवको शैक्षिक प्रमाणपत्र पनि विवादमा परेको हो ।

केन्द्रका कर्मचारी देवले अध्ययन विदा नलिएरै काम गरिरहेको भन्दा माथिल्लो तहका लागि चाहिने शैक्षिक योग्यताको प्रमाणपत्र तयार गरेर आफूलाई ओभरसियरबाट इन्जिनियर बनाएको भेटिएको छ । सुरुमा उनी जिल्ला शिक्षा कार्यालय झापामा ओभरसियर पदमा कार्यरत रहेका थिए । त्यतिबेला ओभरसियरमात्र उत्तीर्ण गरेका देव जिल्ला शिक्षा कार्यालयमा कार्यरत रहेकै बेला इन्जिनियरिङमा स्नातक तह सकाएको बताउने गरेका छन् । सोही सर्टिफिकेट पेश गरेर एउटै कार्यालयमा उनी इन्जिनियर तहमा पुगेका हुन् । तर, कानुन अनुसार कुनै एउटा कार्यालयमा कार्यरत रहेकै बखत पढेको सर्टिफिकेट प्रस्तुत गरेर उही कार्यालयमा त्यो भन्दा उपल्लो तहमा जागिर खान मिल्दैन । त्यसका लागि अध्ययन विदा लिएको हुनुपर्छ । तर, देवले सो बखत कुनै अध्ययन विदा लिएको देखिदैन ।

देवले विराटगरमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङमा ब्याचलर सकाएको बताएका छन् । पूर्वाञ्चल विश्व विद्यालयको मातहतको कलेज इस्टर्नमा स्नातक तहमा बिहानको सिफ्ट मात्र पढाइ हुन्छ । दिपेन्द्र देव उक्त कलेजमा अध्ययन गरेको समयमा उक्त कलेजमा इन्जिनियरिङको सिभिल डिपार्ट प्रमुख रहेका अविनाश मण्डल कलेजमा स्नातक तहको अध्यापन बिहानको शत्रमा मात्र हुने गरेको बताउँछन । साथै उनले बिहानको शत्र सामान्यतया ११ बजेसम्म नै हुने बताए । कुनै प्राक्टिकल अध्यापन त दिउसोसम्म नै हुन्छ । जबकि सो समयमा उनले जिल्ला शिक्षा कार्यालय झापामा बिहान १० देखि नै हाजिरी गराउँदै आएका थिए ।

विराटनगरमा रहेको इस्टर्न इन्जिनियरिङ कलेजबाट झापा जिल्ला शिक्षा कार्यालयसम्मको दुरी १०१ किलोमिटर टाढा छ । जुन दुरी पूरा गर्न सामान्यतया साढे २ घन्टासम्म लाग्छ । त्यसैले बिहान अध्ययन सकेर कार्यालय समयमा पुग्ने कुनै सम्भावना पनि छैन ।

पूर्वाञ्चल विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागु गरिएको छ । सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले अनिवार्य रुपमा कम्तिमा ७५ प्रतिशतभन्दा बढी हाजिर हुनुपर्ने प्रावधान छ । कलेजका तत्कालीन एचओडी मण्डलले ७५ प्रतिशत उपस्थित नभई सेमेस्टर प्रणालीमा जाँच नै दिन नपाइने व्यवस्था रहेको बताउँछन् । उनी नियमित रुपमा जिल्ला शिक्षा कार्यालयमा हाजिर गरेकाले कलेजमा सो प्रावधान अनुसार हाजिर भएको देखिदैन । अथवा यदि उनले कलेजमा नियमित अध्ययन गरेका थिए भने उनले शिक्षा कार्यालयमा नक्कली हाजिर गरेर तलब खाएको हुन जान्छ ।

अचम्म त के छ भने अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा कार्यरत रहेका उनी स्नातकोत्तर तहको इन्जिनियरिङ अध्ययन गरिरहेको बताउने गरेका छन् । भक्तपुरमा जागिर गरेर उनले विराटनगरको कलेजमा अध्ययन गर्न सम्भव हुँदैन । साथै सेमेस्टर प्रणालीमा ७५ प्रतिशत कक्षामा उपस्थित नभई उत्तीर्ण हुन पनि सम्भव हुँदैन । अझ त इन्जिनियरिङमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नियमित कक्षा लिएर पनि उत्तीर्ण गर्न हम्मे हम्मे पर्छ । यसबाट कलेजहरुले के गरिरहेका छन् भन्ने प्रश्न पनि उठ्ने देखिन्छ ।

यसरी रहस्यमय तरिकाले इन्जिनियरिङमा स्नातक सकाएर उही कार्यालयमा सो सर्टिफिकेट पेश गरी माथिल्लो तहको जागिर खाएका देव मनपरि सरकारी स्रोतमा खेलिरहेका छन् । उनले शिक्षा कार्यालयमा विश्व बैंक, एशियाली विकास बैंक लगायतका संस्थाले दिएको सहयोगमाथि रजाइ गरेका छन् । ननस्टपखबरले उनले विभिन्न परामर्शदाता फर्म र व्यक्तिहरुसँग गरेका बार्गेनिङको अडियो, कतिपय कागजपत्रसहितका प्रमाणहरु समेत फेला पारेको छ । यसअघि भुकम्पले असर गरेका विद्यालयहरुको रेक्टोफिटिङ गर्ने कार्यमा पनि ठूलो अनियमितता गरेको पाइएको छ । उनले त्यतिबेला विभिन्न कन्सल्टेन्सीहरुसँग ठूलो रकम लिएर काम मिलाइदिने गरेको कर्मचारीहरु बताउँछन् । अहिले पनि विभिन्न जिल्लामा नमूना विद्यालय भवन निर्माणका लागि विस्तृत शैक्षिक, आर्किटेक्चरल र इन्जिनियरिङ डिजाइन, गुरुयोजना, लागत अनुमान र रेटदर विश्लेषण गर्ने कार्यका लागि परामर्श दाता छनौटको काममा पनि उनले ठूलो बार्गेनिङ गरिरहेका छन् ।

देवले चलखेल गरेर आफ्ना आफू नजिकका मान्छेहरुले सञ्चालन गरेका कन्सल्टेन्सीहरुलाई काम मिलाइदिएर पैसा उठाउने गरेका छन् । उनले कन्सल्टेन्सीहरुलाई कार्यक्रम पारिदिने भन्दै ठूलो रकम असुलेको सोही कार्यालयकै कर्मचारी बताउँछन् । देवको उक्त धन्दा हिजोआज झन झन् बढेको कर्मचारीहरुको भनाइ छ ।

सप्तरीको राजविराज घर भएका देव सामान्य परिवारका हुन । उनको पुख्र्यौली सम्पती त्यति धेरै बलियो छैन । तर, उनले पछिल्लो काठमाडौंमा घर बनाइसकेका छन् । काठमाडौं कोटेश्वरको मनोहरा खोलातर्फ रहेको झोलुङ्गे पुल नजिकै उनले साढे चार तले घर बनाइसकेका छन् । उनले अरु ठाउँहरुमा पनि जग्गा किनेको आफ्ना साथीहरुलाई बेलाबेलामा सुनाउने गरेका छन् । तर, उनलाई नजिकबाट चिन्नेहरु भने उनको यो अवस्था देखेर आश्चर्य व्यक्त गर्छन । इन्जिनियरिङ पढ्दै जागिर पनि गर्दै आएका उनले यत्रो घर र अरु केही ठाउँमा जग्गा किनेको कसरी सम्भव भयो भन्ने उनका नजिकका कर्मचारीहरु चकित परेका छन् ।

ननस्टपखबरसँग कुरा गर्दै दिपेन्द्र देवले यी कुरामा सत्यता नभएको बताए । उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत चलिरहेको यस कार्यक्रममा एशियाली विकास बैंक, विश्व बैंकका प्रतिनिधि समेत रहने बताउँछन् । तर, देवले छनौट समितिमा एडीबी र विश्व बैंकका प्रतिनिधि रहने भने पनि अरु कर्मचारीले भने त्यो अस्वीकार गरे । केन्द्रका कर्मचारीहरु दाताको पैसामाथि यसरी अचम्मको मनपरि भइरहेको देखेर आश्चर्यचकित छन् ।

 

याे पनि पढ्नुहाेस

शिक्षा विकास केन्द्रमा यस्तोसम्म अनियमितता, सडकमै बार्गेनिङ गरेर शर्मनाक अवस्था

Loading...