परिवर्तनका लागि मर्न पनि तयार रहेको भन्दै रेखा थापा यसरी गर्जिन

कर छल्ने एनसेलसँगै संरक्षणकर्ताहरुलाई पनि बहिस्कार गर्न अभियन्ताहरुको आह्वान

काठमाडौं । ‘नो ट्याक्स नो एनसेल’ अभियान संचालन गर्दै आएका अभियन्ताहरुले एनसेलको सिमसँगै कर छलिलाई संरक्षण र प्रोत्साहान गर्नेहरुलाई बहिस्कार गर्नुपर्ने समय आएको धारणा राखेका छन् ।

आइतबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले उक्त धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली चलचित्र उद्योगकी चर्चित नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले जुनसुकै शर्तमा पनि सरकारले एनसेलबाट कर असुल्नु पर्ने धारणा राखिन । भ्रष्टाचार र व्यथितिका विरुद्ध बोल्ने व्यक्तिलाई विभिन्न किसिमको ट्याग लगाउने गरिएको भन्दै उनले सरकारलाई प्रश्न गरिन्, “उता गाउँमा सिटामोल नपाएर गरिब जनताको मृत्यु भइरहेको छ । सामान्य अस्पताल बनाउन चन्दा उठाउनु पर्ने अवस्था छ । यता एनसेलले अर्बौं कर तिर्न मानिरहेको छैन, कसले संरक्षण गरिरहेको छ ?”

परिवर्तनका लागि आवश्यक परे आफु मर्न पनि तयार रहेको बताउँदै नायिका थापाले कर नतिर्ने एनसेलको सिम बहिस्कार गर्न युवाहरुलाई आग्रह समेत गरिन् । उनले आफरु एनसेललाई कर तिराउने अभियान जारी रहेको बताइन् ।

कार्यक्रममा बोल्दै पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेलले ठूला भनिएका दलका शिर्ष नेताहरुले नै एनसेललाई कर नतिर्न प्रोत्साहान गरिरहेको आरोप लगाए । “एनसेल कर तिर्ने शर्तमा नेपाल आएको हो र उ कर तिर्न पनि चाहन्छ । तर, हाम्रो सिंहदरबार निदाएको छ, नेताहरु कमिशनको पछि कुदिरहेका छन्” ढुंगेलले भने । देश कुशासनको दलदलमा फस्दै गएकोमा भन्दै चिन्ता व्यक्त गर्दै ढुङ्गेलले आफ्नो अभियान राष्ट्रको हितमा रहेको भन्दै आम जनता समक्ष अपील गरे । आफुहरुले अहिंसात्मक रुपमा आवाज उठाइरहेको भन्दै उनले शान्तिपूर्ण आवाजको सुनुवाइ नभए समाजमा हिंसाप्रतिको मोह बढ्न सक्ने खतरा औंल्याए ।

एनसेललाई लाभकर तिराउनुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर समेत गरेका ढुंगेलले एनसेलले करत नतिरेसम्म आफूहरुको अभियान जारी रहने बताए ।

अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक एवं नेपाल कम्युष्टि पार्टीका युवा नेता नरबहादुर कार्कीले एनसेलले नेपालमा ब्यापार गर्ने नैतिक आधार गुमाइसकेको बताए । उनले दलाल राजनीतिक नेतृत्व, कर्पोरेट मिडिया र अदालतको संरक्षणमा एनसेल टिकिरहेको आरोप लगाए ।

‘नो ट्याक्स नो एनसेल’ अर्थात एनसेलको सिम बहिस्कार अभियन्ता समेत रहेका कार्कीले एनसेल करछलि प्रकरण एउटा उदाहरण मात्रै भएको भन्दै बालुवाटार, खुलामञ्च, निर्मला पन्त, सुन तस्करीलगायत सबै प्रकरण वर्तमान राजनीतिक प्रणलीको उपज भएको बताए । राजनीतिक ब्यवस्था र पार्टीलाई रेलसँग तुलना गर्दै उनले भने, “रेलको ट्«याक, गति बिग्रिन थाल्यो भने रेल नै फेर्नुपर्छ । एक डिब्बाबाट अर्को डिब्बामा सरेर सहि गन्तब्यमा पुगिदैन । डबल नेकपा, काँग्रेस, मधेशी दल, नयाँ शक्ति, विवेकशीललगायत संसदीय पार्टीहरु एउटै रेलका भिन्नभिन्न डिब्बा मात्रै हुन् ।”

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले एनसेल कर छलि विरुद्धको आन्दोलन कुनै व्यक्ति, संगठन्, पार्टी विशेषको नभएर तीन करोड नेपालीसँग सरोकार राख्ने विषय भएको बताए । अदालतबाट सकारात्मक निर्णय हुने अपेक्षासहित आफुहरुले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको जानकारी दिँदै भण्डारीले सडकबाट पनि निरन्तर खबरदारी गर्न आम नागरिकलाई आग्रह गरे ।

एनसेलका करविरुद्ध सर्वोच्चमा परेको रिटमाथि बहस गरेका भण्डारीले एनसेलसँग सम्बन्धीत सर्वोच्चको पछिल्लो अन्तरिम आदेश त्रुटिपूर्ण रहेको बताए । सर्वोच्चले यसअघि गरेको निर्णय कार्यान्वनय गर्न सबै क्षेत्रबाट दवाव आवश्यक रहेको बताए ।

त्यसैगरी बहिरगमित जनमुक्ति सेनाका वरिष्ठ उपाध्यक्ष रमेश वस्यालले ‘नो ट्याक्स नो एनसेल’ अभियानप्रति ऐक्यबद्धता जनाउँदै अदालतको आदेश, प्रयोगकर्ताको चाहना र जनताको माग विपरित अघि बढे एनसेलमाथि भौतिक कारबाही गर्ने चेतावनी दिए ।

Loading...