कर्मचारीको कार्यक्रममा मन्त्रीको दावी, सबै पालिकाले शिक्षा अधिकारी पाउनु ठूलो सफलता

भक्तपुर, १५ बैशाख । नेपाल निजामती कर्मचारी संगठन स्थापनाको २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त संगठनको शिक्षा विभागीय कार्यसमितिले चार कार्य एकसाथ सम्पन्न गरेको छ । सानोठिमीमा आयोजित एक बिशेष कार्यक्रमकाबीच चार कार्य एकसाथ सम्पन्न गरिएको हो ।

शिक्षा विभागीय कार्यसमितिका अध्यक्ष शिवराज पोखरेलको अध्यक्षताका भएको उक्त कार्यक्रममा संगठनले शिक्षा सेवाबाट बिशिष्ठ श्रेणीमा बढुवा भएका २ जना सचिवलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा शिक्षा सचिव खगराज बराल र कोष तथा लेखा नियन्त्रक सूर्य प्रसाद गौतम रहेका छन । उनीहरुलाई प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले संगठनको तर्फबाट सम्मान पत्र प्रदान गरेका थिए । थप दुई सचिव देव कुमारी गुरागाई र लक्ष्मीराम पौडेललाई पनि सम्मान गर्ने कार्यक्रम भएता पनि गुरागाई र पौडेल द्वय बिशेष कारणबस अनुपस्थित भएकोले पछि गरिने अध्यक्ष शिवराज पोखरेलले जानकारी गराए ।

त्यसैगरी उक्त अवसरमा नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्यसमितिद्वारा शहिद मनोज-झपेन्द्र स्मृती अक्षय कोष स्थापना गरिएको घोषणा समेत गरिएको थियो । ६ लाख ५ हजार रुपैया राशी भएको उक्त अक्षय कोष जिप्रका भक्तपुरमा दर्ता गरी बैधानिकरुमपा स्थापना गरिएको र यसको ब्याजबाट संगठनले अभिभावकत्व लिएको बालबालिकाको शिक्षामा खर्च गरिने जानकारी गराइएको थियो ।

गतबर्ष नै अभिभावकत्व लिइएका ३ बालबालिका र यो बर्ष थपिएकी प्रिया लामा गरी ४ जना बालबालिकालाई नयाँ पोशाक, झोला, स्टेशनरी लगायतका शैक्षिक सामाग्री समेत उक्त अवसरमा हस्तान्तरण गरिएको थियो ।

 

त्यसैगरी उक्त अवसरमा संगठनले शिक्षाको लागि आवश्यक व्यक्ति र सस्थाको समग्र सम्पर्क नम्बरहरु समेटेर तयार पारेको सम्पर्क डायरी समेत बिमोचन र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कर्मचारी समायोजनबाट हताश हुनु नहुने भन्दै कर्मचारी समायोजन ऐन अपरिवर्तनीय नभएको बताउदै हौसला दिएका थिए ।” संविधान त परिवर्तनीय छ भने कर्मचारी समायोजन ऐन अपरिवर्तनीय भन्ने हुदैन,कर्मचारीका असन्तुष्टी सम्बोधन गरिन्छ ।” उनले आश्वाशन दिए ।

स्थानीय तहमा गएका कर्मचारी शिक्षा अधिकारी भएका भन्दै मन्त्री पोखरेलले जिल्लामा सिमित रहेका शिक्षा अधिकारी प्रदेश र पालिकासम्म पुग्नु ठूलो सफलता भएको र यसले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने पनि बिस्वास व्यक्त गरे ।” तपाइँ व्यक्ति र परीवारको समस्या बिर्सिएर देशको समस्या सम्झी हेर्नुस, तपाईलाई जागिरबाट सन्तुष्टी प्राप्त हुन्छ ।” उनले ठोकुवा गरे ।

मन्त्रालयले सार्वजनिक विद्यालय रुपान्तरण दशक अभियान संचालन गर्न खोजेको समेत खुलासा गरेका मन्त्री पोखरेलले सबैले आआफ्नो ठाउँबाट शिक्षामा योगदान गर्नुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा सम्मानितहरुको तर्फबाट बोल्दै शिक्षा सचिव खगराज बरालले सम्मानले सकारात्मक कम्पन कायम गर्ने भन्दै सिक्ने र सिकाउने क्षेत्रमा यसले महत्वपूर्ण अर्थ राख्ने बताएका थिए भने सहसचिवहरुको प्रतिनिधित्व गर्दै बोलेका महानिर्देशक बाबुराम पौडेलले शिक्षा सेवाका कर्मचारीप्रति हेर्ने हेयको दृष्टिकोणलाई बदल्न शिक्षा सेवाबाट सचिव भएका व्यक्तित्वहरुको महत्वपूर्ण भूमिका रहने भन्दै थप उच्च पदको शुभकामना दिएका थिए ।

स्थानीय र प्रदेशबाट संघमा फर्कन नसकिने प्रावधान बनाएर निजामति कर्मचारीलाई पिडित पारिएको भन्दै कार्यक्रममा कर्मचारीहरुका नेताहरुले आक्रोस पोखेका थिए । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका केन्द्रिय अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारी मौरी भएको र मह दिने मौरीसंग खिल पनि हुने भन्दै आफूहरुलाई नजिस्काउन चेतावनी दिएका थिए भने नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्य समितिका अध्यक्ष केदारप्रसाद देवकोटाले प्रशाशन चलाउने राजनीतिक नेतृत्वको दिमागमा प्लास्टर लागेको कडा टिप्पणी गरेका थिए ।

उक्त कार्यक्रममा शिक्षा सेवाका सहसचिवहरू लगायत अन्य कर्मचारीहरु र ट्रेड युनियनकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Loading...