तीन खेल अघि नै बार्सिलोना ला लिगाको च्याम्पियन

काठमाडाैं । बार्सिलोना एकपटक फेरि स्पेनिस ला लिगाकाे च्याम्पियन बनेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेभान्टेलाई हराउँदै बार्सिलोनाले लिगका तीन खेल अघि नै उपाधि पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० ले हराएको हो । तुलनात्मक रुपमा कमजोर मानिएको टिम लेभान्टेलाई हराउन बार्सिलोनाले मेहनत गर्नु परेको देखियो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा बार्सिलोनाका लागि दोस्रो हाफमा कप्तान लियोनल मेस्सीले विजयी गोल गरेका हुन् ।

मेस्सीले ६२ औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो र तीन खेलअघि नै लिगको उपाधि क्लबको पोल्टामा पार्नका लागि पर्याप्त भयो ।

अटुरो भिडालको हेडरलाई दुई डिफेन्डरलाई छक्याउँदै मेस्सीले गोल गरेका हुन् । मेस्सीले मैदान छिरेको १७ औँ मिनेटमा गोल गरेका हुन् ।

बार्सिलोनाले २६ औँ पटक ला लिगाको उपाधि जितेको हो । सबैभन्दा बढिपटक उपाधि जितेको रियल मड्रिड भन्दा सात उपाधि कम छ बार्सिलोनाको अर्थात रियल मड्रिडले ३३ पटक ला लिगाको उपाधि जितेको छ ।

ला लिगाको उपाधि जितेको बार्सिलोनाले यो सिजन प्रमुख उपाधिमा ह्याट्रिक गर्ने सम्भावना छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनाले पहिलो लेगमा लिभरपुलसँग बुधबार खेल्ने छ । यस्तै बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । उसले मे २५ मा फाइनलमा भ्यालेन्सियासँग खेल्नेछ ।

बार्सिलोनाबाट समग्रमा ३४ औँ उपाधि जितेका मेस्सीले १० औँ पटक ला लिगाको उपाधि जितेका हुन् । उनी १० औँ पटक ला लिगाको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

यस्तै क्लब फुटबलमा ३४ उपाधि जितेका मेस्सी यति धेरै उपाधि जित्ने क्याटलान क्लबका पहिलो खेलाडी हुन् । मेस्सीले यो सिजन ला लिगाको सर्वाधिक गोलकर्ताको सूचिमा शीर्षस्थानमा छन् ।

उनले अहिलेसम्म ३४ गोल गरिसकेका छन् । उपाधि जितेको बार्सिलोनाले ३५ खेलबाट ८३ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७४ तथा तेस्रो स्थानको रियल मड्रिडको ६५ अंक छ ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई १–० ले हरायो भने एथ्लेटिको बिल्बाओ र एलाभेसले १–१ तथा लेगानेस र सेल्टा डी भिगोले गोलरहित बराबरी खेलेका छन् ।

Loading...