परीक्षामा मोबाइल लगे जफत , पत्रकारले पनि फोटो लिन नपाउने

रास्ट्रिय परीक्षा बोर्डले परीक्षामा मोबाइल फोन निषेध गरेको छ । यदि परीक्षार्थी परीक्षा हलमा मोबाइल सहित प्रवेश गरेमा उक्त मोबाइल जफत गर्ने बोर्डले जानकारी गराएको हो ।

शुक्रवार सानोठिमीस्थित बोर्डको सभा हलमा पत्रकार सम्मेलन गर्दै बोर्डले परीक्षार्थीलाई सामान्य घडी र क्यालकुलेटर बाहेकका सम्पूर्ण इलेक्ट्रोनिक डिभाइस लौजान निषेध गरेको जानकारी गराएको छ । ”सामान्य घडी र क्यालकुलेटर बाहेकका इलेक्ट्रोनिक डिभाइस साथमा भेटिए जफत गरि प्रहरीलाई बुझाइने छ ।” बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले बताए ।

परीक्षाको मर्यादा कायम राख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिएपछि यस पटक परीक्षा हल प्रवेशमा पनि कडाई गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमति बेगर परीक्षा केन्द्रमा प्रवेश गर्न नपाइने कडा नियम रहेको छ ।
पत्रकारहरुले फोटो खिच्दा परीक्षार्थीको ध्यान भंग हुने दावी गर्दै परीक्षा दिइरहेको बेला कसैले पनि फोटो खिच्न नपाउने नियम बनाएको बताइएको छ । ” परीक्षा हल भित्र पत्रकारलाई मात्र होइन, कसैलाई पनि फोटो,अडियो र भिडियो लिने छुट छैन ।” नियमको बचाव गर्दै अध्यक्ष प्राडा पौडेलले प्रष्ट पारे ।

परीक्षा शान्तिपूर्ण, मर्यादित र गुणस्तरीय गराउन सम्पूर्ण तयारी सकिएको जिकिर गर्दै बोर्डले परीक्षामा अमर्यादित गतिबिधि गरेको पाइएमा त्यस्ता व्यक्तिलाई ६ महिना कैद र १ लाख जरीवाना लगायतको व्यवस्था गरेको बताइएको छ भने मास चिटिंग भएमा त्यस्तो केन्द्रलाई खारेज गर्ने सम्मको तयारी गरेको दावी गरिएको छ । उक्त पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्राडा पौडेलसंगै सदस्य सचिव दुर्गा अर्याल, निर्देशक जंगबहादुर अर्याल, उप नियन्त्रक कृष्ण घिमिरे र सुवास पन्त लगायतको उपस्थिति रहेको थियो ।

आइतवारबाट शुरु हुन लागिरहेको कक्षा १२ को परीक्षा २६ गते सकिने र त्यस लगत्तै कक्षा ११ को परीक्षा २९ गतेबाट शुरु भै जेठ ८ गते सम्म संचालन हुने जनाइएको छ । दुवै कक्षामा गरी परीक्षामा ९ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । त्यसको लागि १ हजार १ सय ७ परीक्षा केन्द्र तय गरिएको र १५ हजार १ सय ७ निरीक्षक र १३ हजार २ सय ८४ सुरक्षाकर्मी समेत तैनाथ गरिने व्यवस्था मिलाइएको छ । परीक्षामा सबैभन्दा बढी काठमाडौबाट १ लाख ३४ हजार १ सय १५ जना परीक्षार्थी सामेल हुने भएका छन भने सबैभन्दा कम मनाङ् जिल्लामा कक्षा ११ मा ५१ र कक्षा १२ मा ५९ गरी केवल १ सय १० परीक्षार्थी सहभागी हुने नियन्त्रक शर्माले जानकारी गराए ।

Loading...