स्थानीय जनप्रतिनिधिको कोटामा छोराछोरी विदेश भ्रमणमा पठाइयो

जुम्ला, १३ बैशाख । स्थानीय निकायका जनप्रतिनिधिको कोटामा एक नगरपालिकाका प्रमुखले आफ्ना सन्तानलाई विदेश भ्रमणमा पठाएको खुलेको छ ।

जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जनप्रतिनिधिको कोटामा आफ्नी छोरीलाई विदेश भ्रमणमा पठाएकी हुन् ।

उक्त भ्रमणमा उक्त नगरपालिकाका तर्फबाट प्रमुख र उपप्रमुख जानुपर्ने थियो । तर, प्रमुख सेजुवालले उक्त भ्रमणमा कसैलाई थाहा नदिएर गोप्य रुपमा छोरीलाई पठाएकी हुन् । प्रमुख सेजुवालले नगरपालिकाका उपप्रमुख र कोही पनि कर्मचारीलाई पनि थाहा नदिएको बुझिएको छ ।

स्रोतका अनुसार फोहर व्यवस्थापन र स्मार्ट सिटी बनाउने विषयमा गत वर्ष प्रमुख सेजुवाल उपप्रमुख अप्सरादेवी न्यौपाने (महत)लाई फिलिपिन्समा अवलोकन भ्रमणको निम्ता आएको थियो ।

एउटा गैर सरकारी संस्थाको पहलमा त्यहाँको भ्रमणको अवसर पाइएकोमा प्रमुख र कर्मचारीको मिलेमत्तोमा सेजुवालकी छोरी र तत्कालीन चन्दननाथ नगरपालिकामा कार्यरत कर्मचारी निर्मला डाँगीलाई पठाएको पाइएको नगरपालिकाका कर्मचारी बताउँछन् ।

“प्रमुखकी छोरी र कर्मचारी फिलिपिन्स भ्रमणमा गएर आएपछि मात्रै थाहा भयो”, प्रशासन शाखामा कार्यरत एक कर्मचारीले भने, “खै कुन्नी के विषयमा उनीहरु गएका रहेका छन्, बारम्बार नगर कार्यपालिका र कर्मचारीको बैठकमा कुरा उठाउँदासमेत सुनुवाइ हुन सकेको छैन ।”

ती कर्मचारीका अनुसार प्रमुख र उपप्रमुखको नाममा आएको चिठीनै गायब बनाइएको रहेछ । प्रशासन शाखामा चिठी दर्ता भए नभएको बुझ्न खोज्दा त्यहाँका कर्मचारीले आफ्नो हातमा चिठी नै नपरेको बताउँछन् । यो मात्रै होइन यहाँ कति चिठी गायब हुन्छन्, पत्तै हुँदैन, के के मात्र भएको छैन र यहाँ ? उनले उल्टै प्रश्न गरे । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र प्रमुखको हात रहेको यहाँ कार्यरत कर्मचारी बताउँछन् ।

उपप्रमुख न्यौपानेले भनिन् “मैले पनि पछि थाहा पाए ।” प्रमुख सेजुवालले नगरपालिकामा आधिकारिक चिठी प्राप्त नभएको र आफूलाई थाहा नभएको बताए ।

“एउटा संस्थाबाट दुई जनालाई भ्रमणको निम्तो आएको थियो”, उनले भने, “उहाँहरु व्यक्तिगत रुपमा भ्रमणमा जानु भएको हो ।”

Loading...