८ आतंककारीको तस्वीर सार्वजनिक

श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारीको तस्वीर सार्वजनिक गरिएको छ ।

आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले विष्फोटमा संलग्न सबै ८ जना लडाकुको तस्वीर सार्वजनिक गरेको हो ।

ट्वीटमार्फत सार्वजनिक तस्वीरमा देखिएका ८ जना लडाकुले नै आक्रमण गराएको दावी गरिएको छ । कालो कपडा लगाएका उनीहरु मध्ये एक जनाले मुख छोपेका देखिन्नन् ।

यसअघि ‘अमाक न्युज एजेन्सी’ लाई उद्धृत गर्दै ‘रोयटर्स’ ले आक्रमणको जिम्मेवारी आइएसले लिएको जनाएको थियो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि घटना आइएसले गराएको हुन सक्ने बताएका थिए ।

यसअघि श्रीलंकाली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात (एनटीजे) को हात रहेको आशंका गरेको थियो । आइतबार राजधानी कोलम्बो, नेगोम्बो र पूर्वी तटीय क्षेत्र बाट्टिकोलामा गराइएको विस्फोटमा ३ सय २१ जना मारिएका थिए सय भन्दा बढी घाइते भएका थिए ।

मारिनेमा ४५ जना विदेशी नागिरक पनि रहेका छन् । आइतबार बिहान र दिउँसो गिर्जाघर र होटलमा गरी ८ स्थानमा विष्फोट गराइएको थियो ।

श्रीलंका सरकारले सोमबार मध्यरातदेखि संकटकाल लगाइएको छ । मंगलबार राष्ट्रिय शोक घोषणा गरिएको थियो । प्रहरीले हालसम्म ४० जना सन्दिग्धलाई पक्रेको जनाएको छ ।

Loading...