नेताको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेकपा नेता वाग्लेद्वारा सचिव पद अस्वीकार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ११ महिना लगाएर टुंग्याएको जिल्ला नेतृत्व सम्बन्धि निर्णयको मसी सुक्न नपाउदै असन्तुस्टी सार्वजनिक भएको छ । सर्लाहीको जिल्ला कमिटिको लागि सचिव पदमा सोमबार दिउसो नियुक्त भएका नेता डाचाराज वाग्लेले पदबाट राजीनामा दिएका छन ।

वाग्लेले पार्टी निर्णय अनपेक्षित भएको भन्दै ‘सचिव’ पद बाट राजीनामा दिएको ननस्टप खबरलाई जानकारी गराए । पार्टीले मनोगत तरीकाले जिल्ला नेतृत्व चयन गरेको आरोप लगाउदै उनले पदबाट राजीनामा गरेका हुन् । कम्युनिष्ट पार्टीले कुनै मापदण्ड बिना नै मनोगत रुपमा गरेको निर्णय मान्न नसकिने भन्दै उनको राजीनामा आएको हो ।

सोमवार साझ नै आकस्मिक पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा कार्यक्रममा नेकपाका जिल्ला नेताहरु उपस्थित थिए । जिल्ला पार्टीको सल्लाह मै आफूले राजीनामा दिएको वाग्लेले बताए ।

नेकपाले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो पार्टीको ७१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको थियो ।

सर्लाहीको लागि सचिव नियुक्त वाग्ले आफू भन्दा कनिष्ठ व्यक्तिलाई अध्यक्ष मान्न नसकिने भन्दै राजीनामा दिन बाध्य बनेको नेकपाका एक नेताले बताए । नेतृत्वको स्वेच्छाचारीता बिरुद्ध नेता वाग्लेले सहि निर्णय लिएको नेकपा सर्लाहीका नेता राजकुमार यादवले जानकारी दिए । अध्यक्षमा परेका रेवती पन्त पार्टीको प्रदेस नम्बर २ का सदस्य हुन् भने सचिव भनिएका वाग्ले केन्द्रिय सदस्य हुन् । प्रदेश सभाको सदस्यलाई अध्यक्ष मानेर जादा पदीय मर्यादा कायम हुन नसक्ने भन्दै उनले सचिव पदबाट राजीनामा दिएका हुन ।

एकता केन्द्रबाट राजनीति गरेका वाग्ले तत्कालिन माओबादी केन्द्रका नेता हुन् भने पन्त तत्कालिन नेकपा एमालेका नेता हुन् ।

नेकपामा भागबण्डामा अध्यक्ष र सचिव नियुक्त गरीएको छ । प्रत्येक जिल्लामा पूर्व एमालेले अध्यक्ष पाउदा पूर्व माओबादीबाट सचिव र माओबादीले अध्यक्ष पाउदा एमालेबाट सचिव नियुक्त गरिएको छ । एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । नेताहरुले गोजीबाट नाम झिकेर पद बाडेपछी जिल्ला नेतृत्व चयन बिबादित बनेको देखिन्छ ।

Loading...