आर्ठौँ राष्ट्रिय खेलकुद: एक अर्ब खर्चदा पनि खेल्न लायक संरचना बनेनन

नेपालगञ्ज । आर्ठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जलगायत अन्य क्षेत्रमा बनेका पूर्वाधारको निकै कमजाेर बनेका छन । खेलकुद परिषदले संरचना अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नै भएको दाबी गरे पनि खेलाडीहरुले खेल खेल्न निकै असहज महशुस गरेका छन् । 

प्रतियोगिता सुरु भएको तीन दिन बित्दा भौतिक पूर्वाधारको मापदण्ड र व्यवस्थापन झूर देखिएकाे छ । चर्को गर्मीमा खेलाडीहरू पदकका लागि प्रतिस्पर्धा गर्न बाध्य भइरहँदा उनीहरू कमजोर व्यवस्थापनको सिकार भएका छन् । पूर्वाधारमा परिषद्ले एक अर्बभन्दा माथि खर्च गरेको छ । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुरूप पूर्वाधार नहुँदा खेलाडी खेलमैदानबाट विमुख भएका छन् । खेलस्थलमा पुगे पनि तोकिएको समयमा खेल नहुने समस्या हुँदा केही खेल स्थगित नै हुन पुगेका छन् ।

खेलाडी जोगिएर खेल्न बाध्य

फुटबल मैदान राम्रो नहुँदा खेलाडी घाइते नहुन् भनी जोखिम उठाएका छैनन् । एपिएफका स्ट्राइकर आशिष लामाले मैदानका कारण आफूहरूले शतप्रतिशत योगदान दिन नसेकेको बताउँछन् । उनी भन्छन्, ‘शतप्रतिशत दिन सकिँदैन जोगिएर खेल्नुपर्ने हुन्छ । त्यसैले इन्जुरीबाट जोगिएर उत्रँदा नतिजा सोचेअनुरूप भइरहेको छैन ।’ प्रावधिक कारणले एपिएफको फुटबल टोलीले ५ वैशाखमा प्रतिस्पर्धा गर्न पाएन । फुटबल मात्र होइन, क्रिकेट, हकी र ह्यान्डबललगायतका खेलको अवस्था पनि त्यही छ । प्राविधिक कारण देखाउँदै सुटिङ शुक्रबारको सट्टा शनिबार सारियो । खेल सकिएपछि खेलाडीहरूले पदकका लागि समेत प्रतीक्षा गर्नुपरेको थियो । आइटिएफ तेक्वान्दोमा खेलाडीले पदक थाप्न लामो समय नै प्रतीक्षा गर्नुपरेको थियो । आर्चरी संघका अध्यक्ष दीपक गुरुङले राष्ट्रिय खेलको उद्घाटन र समापन मात्र भव्य बनाउने गरेको भन्दै खेलका दौरान भएको दुःख छुट्टै भएको बताए । प्रतियोगितामा व्यवस्थापन कमजोर भएको उनको गुनासो छ ।

प्रतियोगिताअघि आर्चरीको प्रतियोगितास्थलको अभाव बन्यो । आर्चरी संघले आफ्नै पहलमा मैदान तय ग¥यो । प्रहरीको सहयोगमा प्रहरी तालिम केन्द्रमा आर्चरीको खेल भइरहेको छ । यता आर्चरीका खेलाडीले अझै पूरा रकम पाएका छैनन् । योपटक ९६ खेलाडी आर्चरीबाट सहभागी छन् । आर्चरीले परिषद्बाट १० लाख मात्र पाएको छ । भ्रमणभत्ता स्वीकृत नहुँदा होटेल चेकआउटमै समस्या भएको संघका महासचिव रमेश सिवाकोटीले बताए । सिवाकोटीका अनुसार आर्चरीको अवस्था दिनदिनै कमजोर बनिरहेको छ । ‘हामीले व्यक्तिगत रूपमा खेलाडीका लागि योग्य मैदान बनाउन छुट्टै खर्च गर्नुप¥यो,’ उनले भने ।

चौरमै हाइजम्प

दाङको तुलसीपुरस्थित बेलझुन्डी रंगशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकै मुख्य प्रतिस्पर्धा एथलेटिक्स भइरहेको छ । आयोजक परिषद्ले दशरथ रंगशालापछि बेलझुन्डी रंगशालामा सिन्थेटिक ट्रयाक बिछ्याइको दाबी गरिरहेको छ । तर, ट्रयाक अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन । जसका कारण खेलाडी ट्रयाकमा नभएर खुला चौरमा प्रतिस्पर्धा गर्न बाध्य भएका छन् ।

हाइजम्पका खेलाडी कुदेर नाध्नका लागि २० मिटरको ट्रयाक हुनुपर्ने प्रावधान छ । बेलझुन्डी रंगशालाको ट्रयाकको दूरी १५ मिटर मात्र हुँदा चौरमा प्रतिस्पर्धा गराइएको छ । एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले हाइजम्पका लागि ट्रयाकको मापदण्ड नपुगेकाले चौरमा खेलाएको बताए । शनिबार बेलझुन्डी चौरमा महिला र पुरुषको हाइजम्प करिब २ घन्टा चलेको थियो । खेलाडीहरू चौरबाटै कुदेर नाघेका थिए । चौरमा भएको पुरुष हाइजम्पको स्वर्ण आर्मीका सूर्यबहादुर खत्रीले हात पारे । उनले १.८५ मिटर नाघेर स्वर्ण हात पारेका हुन् ।

होटेलको स्विमिङ पुलमा पौडी

परिषद्ले पौडी इभेन्टका लागि नयाँ पौडी पुल बनाएको छ । पौडी पुल समयमै तयार हुने भनिए पनि इभेन्ट सुरु हुने एक दिनअघिसम्म पूरा भइसकेको छैन । समयमै पौडी पोखरी तयार नभएपछि २५ मिटर लम्बाइको सिंगेट होटेलमा खेल हुने भएको छ । ३५ स्वर्णका लागि हुने पौडी खेल आइतबारबाटै सुरु हुनेछ । परिषद्ले मुख्य पौडी पोखरी सम्पन्न भएको जनाएको छ । अहिले पनि पोखरीमा सरसफाइको काम जारी छ । पोखरीको एरियामा अझै पनि धेरै भाग मर्मतको काम भइरहेको छ । १६ लाख लिटर क्षमताको पोखरीमा पानी भर्ने काम अझै भएको छैन । योपटक अन्तर्राष्ट्रिय मापदण्डअनुरूप पौडी खेल नहुने खतरा बढेको छ । पौडीको सर्वोच्च निकाय फिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा लामो कार्सलाइन हुनुपर्ने बताएको छ । नियमअनुसार खेलाडीले ५० मिटरको लङ्कोर्समा खेल्नुपर्ने व्यवस्था छ । पौडी प्रशिक्षक शंकर कार्कीले राष्ट्रिय प्रतियोगिता लङ्कोर्समै भएको भए राम्रो हुने बताए । उनले २५ मिटरको सर्टकोर्समा पनि रेकर्ड हुने गरेको बताए ।

एथलेटिक्सका खेलाडीले दाङको चर्को गर्मी सामना गरिरहेका छन् । गर्मीकै कारण खेलाडीहरूले अभ्याससमेत राम्रो गर्न पाएका छैनन् । दौडन लगाउनुअघि खेलाडीलाई सहयोगीले छाता ओढाएर घाम छेक्ने गरेका छन् । अहिले खेलाडीहरूको भरपर्दो साथी छाता नै बनेको छ । आ–आफ्नो खेलअघि उनीहरू गर्मी छल्न छाता नै ओढेर बसेका छन् ।

Loading...