भाषण गरिरहेका बेला कालो झण्डासहित नारा लाउनेलाई सुरक्षाकर्मीले केही नगरेपछि प्रम ओली रिसाउँदै दिए समात्न आदेश

बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ । 

जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् ।

खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल प्रवेश गरे ।तर प्रधानमन्त्रीलाई केही भनेनन् । 

उनले कार्यक्रमस्थलमा कालोझण्डा देखाएपनि कसैले केही गरेनन् । शुरूमा त प्रहरीले पनि उनलाई समातेन । प्रधानमन्त्रीले नै सम्बोधन रोकेर कालोझण्डा देखाइराखेको छ, के हरेर बस्या छ सुरक्षा निकाय ? भनेपछि मात्रै प्रहरीले उनलाई समातेर लग्यो ।  

उनी कुन पार्टी कार्यकता हुन् भन्ने पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले कालोझण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे रहेको पुष्टि गरे । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ । बुटवलमा अंग्रेज फौजलाई हराएको सम्झनामा पहिलोपटक विजय उत्सव मनाइएको छ ।

Loading...