बालुवाटारको जग्गा किनेको पौडेलद्वारा स्वीकार, छानविनबाट हुने निर्णय स्वीकार गर्ने घोषणा

काठमाडौं, ६ वैशाख । बालुवाटारको सरकारी जग्गा गोप्य रुपमा व्यक्तिका नाममा गरी बेचिएको सन्दर्भमा जोडिएका सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासविच बिष्णु पौडेलले आफूले त्यो जग्गा खरिद गरेको स्वीकार गरेका छन् ।

उनले बालुवाटारको ८ आना जग्गा किनेर आफ्नो छोरा नविन पौडेलको नाममा राखेको पनि स्वीकार गरेका छन् । उनले खरिद गरेको सो जग्गाबारे व्यापक विवाद आएपछि पौडेलले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिएका हुने । उनले विज्ञप्तिमा यस सम्बन्धमा सरकारले छानविन कार्य अगाडि बढाइरहेको जनाउँदै उक्त छानविनबाट निकालिने निष्कर्ष र गरिने निर्णयहरुप्रति आफू पूर्ण रुपमा सहमत हुने प्रतिबद्धता समेत व्यकत गरेका छन् ।

पौडेलले विज्ञप्तिमा आफूले उक्त जग्गा २०६१ साल पुस २९ गते खरिद गरेको पनि स्वीकार गरेका छन् । आफूले किन्दा उक्त जग्गा उमा ढकाल र माधवी सुवेदीको नाममा रहेको र उनीहरुबाटै किनेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सघाइरहेको पनि जनाएका छन् ।बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा बनाएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले चालेको कदमलाई पौडेलले विज्ञप्तिमार्फत स्वागत र समर्थन गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘यस सम्बन्धमा राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन होस र छानविनका निष्कर्षहरु कार्यन्वयन होउन् भन्ने अपेक्षा गर्दछु । र राज्यको आधिकारिक निकायबाट हुने छानविनका निष्कर्षहरुप्रति मेरो दृढ समर्थन रहनेछ । म माथि लगाएका आरोपहरु पुष्टिगर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु साथै सत्यको कसीमा ती आरोपहरु स्वतः खण्डित हुनेछन् ।’

पौडेलले उक्त जग्गाका सम्बन्धमा आफूमाथि लगाइएका आरोपको भने खण्डन गरेका छन् । लगाइएका आरोपको कुनै सत्यता नरहेको भन्दै उनले त्यो जग्गा आफूले नवलपरासीको जग्गा बेचेर खरिद गरेको पनि प्रष्ट पारेका छन् । साथै उनले जग्गा खरिद भएका बखत २०६१ सालमा आफू मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको पनि प्रष्ट पारेका छन् ।

उनले सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई कीर्ते गर्ने वा गराउने कार्यमा आफू र आफ्नो परिवारको प्रत्यक्ष अप्रत्यक्ष संलगन नरहेको र यस्तो अपराधन्जय गतिविधि सोच्न समेत नसकिने दावी गरेका छन् ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

 

Loading...