विप्लवका दुई केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौं, ६ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् ।

सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली सो पार्टीका न्याय विभाग प्रमुख समेत हुन । त्यस्तै सल्यान घर भएका खड्का पार्टीमा प्रभावशाली युवा नेता हुन् । असल यसअघि गत प्रदेश तथा संघीय प्रतिनिधिसभाको चुनावका क्रममा पनि गिरफ्तार भएका थिए ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाए यता सयौ नेता कार्यकर्ता गिरफ्तार परेका छन् । त्यसमध्ये रुकुमका हेमन्तप्रकाश ओली सुदर्शन सबैभन्दा उच्च तहका नेता हुन् । उनी पार्टीका स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हुन । त्यसैगरी पार्टीका पोलिटब्यूरो सदस्य तथा जनवर्गीय ब्यूरो इन्चार्ज मोहन कार्की जीवन्त, केन्द्रीय सदस्य वसन्त श्रेष्ठ प्रज्वलन, केन्द्रीय सदस्य तथा महिला संगठनकी अध्यक्ष बन्धु चन्दलाई पनि प्रहरीले यसअघि नै गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका मध्ये मकवानपुर जिल्लाका इन्चार्ज बीरबहादुर घलान ज्वालालाई केही दिन अघि जेल चलान गरिएको छ ।

Loading...