घरमा प्रहरी गिरफ्तार गर्न आएपछि पूर्वराष्ट्रपतिले आफैलाइ गोली हानेर गरे आत्महत्या

काठमाडौं, ५ वैशाख । भ्रष्टाचार आरोप लागेका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ ।

प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएका थिए । त्यसपछि उनले ढोका बन्द गरे । उनी रहेको कोठाभित्र गोली चलेको आवाज सुनियो । प्रहरीले ढोका खोलेर हेर्दा उनी कुर्सीमा बसिरहेका थिए र टाउकोमा गोली लागेको घाउ थियो ।

त्यसलगत्तै प्रहरीहरुले राजधानी लिमास्थित अस्पतालमा उपचार गर्न लगेका थिए । उनको शल्यक्रिया पनि गरियो तर चिकित्सकहरुले बचाउन सकेनन् ।

वर्तमान राष्ट्रपति भिस्काराले ट्वीट गर्दै पूर्वराष्ट्रपति गार्सियाको निधनको पुष्टि गरेका छन् । यो घटनाले आफू ‘स्तब्ध’ भएको भन्दै उनले परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

गार्सिया सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म गरी दुई पटक राष्ट्रपति बनेका थिए । राजधानीमा मेट्रोलाइन परियोजनासँग सम्बन्धित निर्माण कम्पनी ओडुब्रेस्टसँग ३ करोड डलर घुस लिएको आरोप उनीमाथि लागेको छ । यद्यपि उनले सो आरोप अस्वीकार गर्दै आएका थिए ।

Loading...