बन्दमा देशका अधिकांश ठाउँमा बम भेटेर सुरक्षाकर्मी हैरान, नेपाली सेनाका नायकको औला नै चुडियो

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेकाे बन्दका क्रममा सडकमा राखिएकाे वम डिस्पाेज गर्ने क्रममा नेपाली सेनाका एक जवान घाइते भएका छन् । 

प्रदेश राजधानी पोखरा ३ नदिपुरस्थित प्रदेशसभा भवन नजिक भेटिएको बम डिस्पोज गर्ने क्रममा सैनिक घाइते भएका हुन् । उनकाे हातकाे औला नै गएकाे बताइएकाे छ । नेपाली सेनाले उक्त बम डिस्पाेज गरेकाे बताइएकाे छ । घाइते हुनेमा नेपाली सेनाकाे कालिभञ्जन गण रत्नमन्दिरमा कार्यरत अमलदार धर्मबहादुर थापा रहेका छन् । प्रदेशसभा भवन अगाडिकाे निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको र त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा थापा घाइते भएकाे बताइएकाे छ ।

त्यसैगरी आज देशका विभिन्न ठाउँमा वमजस्तै देखिने शंकास्पद बस्तुहरु फेला परेका छन् । कास्कीकै लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली त्यसतर्फ पुगेको प्रहरीले जनाएको छ ।

त्यस्तै तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा पनि बम भेटिएको छ । शुक्लागण्डकी एफएमले दिएको जानकारी अनुसार बम डिस्पोजको लागि नेपाली सेनाको टोली त्यस तर्फ पठाइएको छ । बम रहेको स्थानलाई अहिले नेपाल प्रहरीले घेरेर सुरक्षा दिईरहेको बताइएकाे छ ।

बन्दका क्रममा काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको थियो । आजै पाल्पामा पनि बम विस्फोट भएको बताइएकाे छ । पाल्पाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा भएको विस्फोटबाट भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस्तै रुपन्देहीको कोटिहवा-बाउन्नकोटी सडकमा बम भेटियो भने उता बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बम भेटिएको छ । यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि कुकर बम भेटिएको छ । त्यस्तै कैलालीका गोदावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा पनि बम भेटिएकाे बताइएकाे छ ।

यता बाँके, मोरङ्ग, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लाका विभिन्न ठाउँमा बम भेटिएका छन् । बन्दका कारण निजी सवारी साधन छिटफुट सञ्चालनमा रहे पनि नजिक तथा टाढा चल्ने सार्वजनिक बसहरु बन्द रहेका छन । शैक्षिक संस्थाहरुसमेत पूर्ण रुपमा प्रभावित बनेका छन् ।

धेरै जसो जिल्लामा वम फेला परेपछि प्रहरीले नै सडकका विभिन्न ठाउँमा सवारी साधनलाई रोकेर राखेको छ ।

सरकारी दमन र आफ्ना नेता कार्यकर्तालाई गैरन्यायिक तरिकाले गिरफ्तार गरी हिरासतमा राखिएको भन्दै नेकपाले आज बिहीबार नेपाल बन्दको आब्हान गरेको थियाे ।

Loading...