नेपालको १ किलो ३३० ग्रामको पहिलो स्याटलाइट अन्तरिक्षमा पठाइदै

काठमाडौं, ४ बैशाख । नेपालको पहिलो नानो स्याटलाइट ‘नेपाली स्याट वान’ प्रक्षेपणका लागि मौसम अनुकूल भएको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले जनाएको छ।

नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनिया वाल्लोस्प टापुस्थित नासाको प्रक्षेपण केन्द्रबाट नेपाली स्याट वान बोकेको रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आइएसएस)का लागि प्रक्षेपण हुँदैछ।

१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ। यो १ किलो ३३० ग्रामको छ।

नासाका वाल्लोप्स केन्द्रले प्रकाशन गरेको पछिल्लो ब्लगमा एन्टारेस रकेट प्रक्षेपणका लागि मौसमी अवस्था ९५ प्रतिशत अनुकूल रहेको जनाएको छ। बादल तथा वायुको दबाबलगायत अवस्था अनुकूल रहेको नासाले जनाएको छ।

आइएसएसका लागि कार्गो लिएर जाने एन्टारेस रकेटमा नेपालसँगै श्रीलंकाको ‘रावण वान’ र जापानको युगुइसीमा नानो भूउपग्रह पनि अन्तरिक्षमा प्रक्षेपण हुनेछन्।

सिग्नस कार्गो स्पेसक्रास्ट नेपालको १ किलो ३ सय ग्रामका नानो स्याटलाइटसहित करिब ३ हजार ४५० केजी सामग्री लैजाने छ। जसमा अन्तरिक्ष यात्रीको सामान, अनुसन्धानका विषय र हार्डवेयरहरू छन्। सो प्रक्षेपण नासाको टेलिभिजन र वेबपेजबाट प्रत्यक्ष प्रसारण हुनेछन्।

याे भूउपग्रह जापामा रहेका नेपाली आभास मास्के लगायतकाे टाेलीले बनाएकाे हाे । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा करिब डेढ महिना राखेपछि नेपाली स्याटलाइटलाई अन्तरिक्षमा छडिने बताएका छन् ।

नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ। प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने यसले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ। त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ। यो नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुन लागेको हो।

Loading...