पत्रकार कुँवरलाई प्रहरीले दिनभर सुन्धाराको होटेलमा थुनेर दियो मानसिक यातना

काठमाडौं, ३ बैशाख । प्रहरीले जुम्लाका चर्चित पत्रकार तथा लेखक राजबहादुर कुँवरलाई दिनभर नियन्त्रणमा लिएर मानसिक यातना दिएको छ ।

सोमवार दिउसो १२ बजेतिर गाउँबाट आएका विरामीलाई भेटन सुन्धारा पुगेका पत्रकार कुँवरलाई प्रहरीले फोन नियन्त्रणमा लिइ एक होटेलको कोठामा लिएर दिनभर थुनेर राखेको थियो । पत्रकार कुँवरले आफूले पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि जवरजस्त विनाकारण होटेलको कोठामा थुनेको बताए । दिनभर खाना पानी समेत खान नदिएर होटेलको कोठामा थुनिएका पत्रकार कुँवरलाई साँझपख ५ बजे प्रहरीले टेकुस्थित जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा पु¥याएको थियो । उनलाई साँझ ९ बजेतिर मात्र रिहा गरेको थियो ।

पत्रकार कुँवर कर्णाली मासिक पत्रिकाका सम्पादक हुन् । यसअघि प्रगतिशील लेखक संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष समेत रहेका कुँवर मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) मा यसअघि आवद्ध रहेका थिए । पछिल्लो समय उनी लेखन र पत्रकारितासँगै जुम्ला जिल्लामा स्याउ खेतीको विकासका लागि सक्रिय भएर लागेका छन् । कविता र गजलका साथै निवन्ध लेखनमा सशक्त क्षमता भएका उनका थुप्रै पुस्तकहरु समेत प्रकाशित छन् ।

पत्रकार कुँवरसँगै जुम्लाका सुर्य कठायत, वीर कठायत र चन्द्रविर तिरुवालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये चन्द्रविर र विर कठायत नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता हुन् ।

Loading...