मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल उक्लियो दोस्रो स्थानमा

काठमाडाैं । १९ वर्ष मुनिकाे विश्वकप क्रिकेट प्रतियाेगिताकाे छनाेट खेलमा नेपालले मलेसियालाई शानदार ढंगले पराजित गरेकाे छ । आइसिसी यू-१९ विश्वकप छनोटमा सोमबार नेपाली टाेलीले मलेसियालाई ८ विकेटले पराजित गरेकाे हाे । यससँगै अब नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

मलेसियाको क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको ९३ रनको सामान्य लक्ष्य नेपालले १३ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो।

यो जितसँगै नेपाल ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको हो। त्यतिनै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो।

६ टोली सम्मेलित प्रतियोगिताको शीर्षमा रहने टोली २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनेछन्। नेपाल र यूएई दुबैले अब २-२ खेल खेल्न बाँकी छ।

तुलनात्मक रुपमा यस छनोटमा नेपाल बलियो मानिएपनि यूएईविरुद्धको खेलमा वर्षाले विथोलेपछि नेपाल डिएल म्याथडका आधारमा एक रनले पछि परेको थियो। उक्त खेलमा २ अंक गुमाएपछि यूएईको विश्वकप छनोट हुने सम्भावना बढेको छ।

टस हारेर ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। उसका लेज्जट ड्यानियल फिक्रेले ५५ बलमा ३७ रन बनाएका थिए। त्यसबाहेक ममुहम्मद आमिले १३ र हाकिम हिर्सनले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका पवन सर्राफ र कुशल मल्ले ३-३ विकेट लिए। ८.३ ओभर बलिङ गरेका पवनले १ ओभर मेडन राख्दै १३ रनमात्रै खर्चिएका थिए। यस्तै ८ ओभर बलिङ गरेका कुशलले २ ओभर मेडन राख्दै २० रन खर्चे। उनीहरुसँगै कमलसिंह ऐरीले २ तथा सागर ढकालले १ विकेट लिए।

जवाफी ब्याटिङमा नेपालका ओपनर रित गौतमले ३९, आसिफ सेखले २६ र पवन सर्राफले १९ रन जोड्दै नेपाललाई सहज जित दिलाए। ४५ बल खेलेका रितले ५ चौका प्रहार गरे। यस्तै १८ बल खेलेका आसिफले ३ चौका र १ छक्का प्रहार गरेका थिए।

Loading...