किन रिसाउँछन प्रधानमन्त्री र सञ्चारमन्त्री ? भ्रष्टाचार र रिसको स्रोतमाथि आहुतीको सटिक प्रहार

काठमाडौं, २६ चैत । चर्चित साहित्यकार तथा कम्युनिस्ट नेता बिश्वभक्त दुलाल आहुतीले सरकारमा रहेकाहरु मिडियाले आफ्नो भण्डाफोर गर्छ भनेर तर्सिएको बताएका छन् । काठमाडौंको अनामनगरमा रहेको रेडियो मिर्मिरेको १२ औ वार्षिक उत्सवका अवसरमा सोमवार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आहुतीले सरकारको नेतृत्व गर्नेहरुमा विपरित विचार वा आलोचना पच्दै नपच्ने मनोविज्ञान पैदा भएको बताए ।

यस्तो मनोविज्ञानको स्रोत खोतल्नुपर्ने र भण्डाफोर गरिनुपर्ने बताउँदै नेता आहुतीले दुई कारणले यस्तो मनोविज्ञान पैदा हुने बताए । उनले भने, “यसको अध्ययन गर्दा दुई वटा कारण छन् । पहिलो फरक मतबारे ज्ञान नभएपछि र दोस्रो त्यो फरक मत उसको कमजाेरीकाे भण्डाफोर गरिदिने खालको भएपछि । अहिले नेपाली समाजमा उठेका फरक मत र विचार सत्ताको भण्डाफोर गरिदिने खालका छन । त्यसैले उनीहरुलाइ रिस उठ्छ ।”

आफ्नो गल्ती र आफू कति कमजोर छु भन्ने थाहा नपाइकन आफ्ना विरोधीसँग रिस नउठ्ने उनले बताए । रेस्लिङ खेलाडीको उदाहरण दिँदै उनले एउटा वडेमानको रेस्लिङ खेलाडीका अगाडि ५० केजीको मान्छे गएर जतिसुकै उफ्रिएर कुट्छु भने पनि रेस्लर नरिसाउने बताए । उसले सक्दै सक्दैन र उसलाई मैले सजिलै पछार्न सक्छु भन्ने राम्रोसँग थाहा हुने भएकोले रेस्लिङ खेलाडी नरिसाउने उनको भनाई थियो ।

अाहुतीले भने, “केपी जी र प्रचण्डजीसहितका सत्ताधारीलाई विरोधीहरुले उठाएको प्रसंग, विचारधारा र उनका गतिविधिप्रति चर्काे रिस उठ्छ । किनकि विचारधारालाई विचारले जवाफ दिन्छु, गतिविधिलाई जनतालाई सन्तुष्ट पारेर जवाफ दिन्छु र राजनीतिलाई लोकतन्त्रको सवोत्तम अभ्यासद्वारा जवाफ दिन्छु भन्ने साहस र आइडिया उहाँहरुमा छैन । यदि त्यो भएको भए उहाँहरुलाई रिस उठ्दैन । यदि उहाँहरुसँग त्यो साहस भएको भए जति आलोचक हुन्छन, त्यति उनीहरुसँग नजिक भएर छलफल गरौ भन्नुपर्ने हो ।”

अहिलेका सत्ताधारीहरुसँग लोकतन्त्रको व्यवस्थित अभ्यास गर्ने नीति पनि नभएको र त्यो खालको हुटहुटी पनि नभएको आहुतीले दावी गरे । अहिले राष्ट्रियता, जनजीविका र अन्य जे जति कुराहरु र विरोधका स्वर उठेका छन तिनलाई हल गर्ने वैचारिक खजाना नै नभएको दावी गरे ।

आफ्नो गल्ती छोप्नका लागि शासकहरुले दमनको भाषा बोल्ने गरेको उदाहरण पेश गरे । उनले केही नेताहरुले आफ्ना छोराछोरी नभएकोले आफूले भ्रष्टाचार नगर्ने दलिल पेश गरेको भन्दै त्यसप्रति आश्चर्य प्रकट गरे । मैले कसलाई दिनु छ र भ्रष्टाचार गर्ने भनेर भन्नु कुनै तर्क नभएको उनले दावी गरे । उनले भने, “कतिपय मान्छे मेरा छोराछोरी छैनन त्यसैले म भ्रष्टाचार गर्दिन भन्छन । मानौकी संसारमा छोराछोरी जन्मिने भएकै कारण भ्रष्टाचार हुन्छ । त्यसो भए छोराछोरी नभएको संसार कहाँ सिर्जना गर्ने ?कुनै समय सन्त परम्परा थियो तर आज विहे गरेन वा छोराछोरी पाएन भने उसको कही शारीरिक समस्या छ कि भन्ने पो हुन्छ ।”

भ्रष्टाचार नगरेको प्रमाण दिन नसक्ने भएकोले यस्ता तर्क दिने गरेको बताए । उनले थपे, अघिल्लो दिन म भ्रष्टाचार गर्दिन र गरेको सहन्न पनि । तर, भोलिपल्लटै चार अर्बको भ्रष्टाचारको समाचार बाहिर आउँछ । उनीहरु म भ्रष्टाचार गर्नेलाई लखेट्छौ भन्छन । तर, कसरी लखेट्ने ? आफ्नै नेता छ अनि कसलाई लखेट्ने ?”

उनले दुनियाँमा अर्बभन्दा ठूला भ्रष्टाचारमा भ्रष्टाचारी फेला नपरेको दावी गरे । नेपाल मात्र नभई भारत अमेरिकासम्म पनि त्यस्ता भ्रष्टाचारी फेला नपरेको र कारवाही नभएको बताए । पुँजीवाद अन्तर्गत ठूला भ्रष्टाचार त्यो देशका ठूला पार्टीहरु सबै मिलेर भ्रष्टाचार गर्ने उनले दावी गरे । नत्र त्यो सम्भव नहुने उनले बताए ।

उनले एनसेल प्रकरण र चुनावका बेला के के हुन्थ्यो भन्ने रोचक प्रसंग पनि सुनाए । उनले संसदको लेखा समितिको बारेमा प्रसंग उठाउँदै त्यो समितिमा विरोध गरे पनि पैसा आउने र समर्थन गरे पनि पैसा आउने गरेको दावी गरे । समर्थन गरे जसको आयोजना हो उसैले पैसा दिने र विरोध गरेमा त्यो आयोजना असफल पार्न चाहने ठेकेदारले पैसा दिने उनले बताए । यी प्रसंग सुनाउने उनले भने, “संसदीय व्यवस्था अन्तर्गत अचम्मका संस्कार हुँदो रहेछ । विरोध गरे पनि पैसा आउने, मसर्थन गरे पनि पैसा आउने । सत्तापक्ष र प्रतिपक्ष दुबैलाई समर्थन गराउने खेल यहाँ हुन्छ ।” नेता आहुतीले एनसेल प्रकरणमा प्रचण्ड र केपी ओली जसरी बोल्छन् ठ्याक्कै त्यसैगरी देउवाले पनि बोल्ने गरेको उदाहरण दिए । सबैले एकै मुख भएर छानविन हुनुपर्छ भन्ने गरेको तर कहिले पनि छानविन नभएको उनले सुनाए ।

यस्तो काण्ड मिडियाले लेख्ने गरेको र मिडिया पनि दुई खालका रहेको उनले बताए । उनले भने, यहाँ आफ्नो जीवन चलाउन लेख्ने पत्रकार पनि छन् र लड्नका लागि लेख्ने पत्रकार पनि छन् । जीवन चलाउन लेख्ने खालकालाई त उनले तह लगाउन सम्भव देख्छन । उनीहरुको जीवन चलाइदिए पुग्यो । तर, जीवन चलाउनलाई मात्र होइन, लड्न लेख्नेहरुलाई के गर्ने त भन्दा तिनलाई त उनीहरु दमन नगरी अरु उपाय देख्दैनन ।” उनले नेपालमा वैकल्पिक मिडियाको अभ्यास गर्ने बहस नै नभएको बताए । त्यसको व्यवस्थित अध्ययन र बहस हुनुपर्नेमा उनले जोड दिए ।

रेडियो मिर्मिरेले आफ्नो १२ औ वार्षिक उत्सवका अवसरमा वर्तमान राजनीतिक परिस्थितिः प्रेस, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरण, पूर्व सभामुख तथा नागरिक समाजका अगुवा दमननाथ ढुंगाना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती, नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात, नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने, चर्चित पत्रकार ऋषि धमला लगायतले पनि आफ्ना विचार प्रस्तुत गरेका थिए । 

Loading...