‘नेकपा र काङ्ग्रेस थारो गाइ हुन, थारो गाई ब्याउँदैन, देश चल्दैन’ – श्रेष्ठ

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले पहिचान र समृद्धि चाहने जनताका लागि कम्युनिष्ट र काङ्ग्रेसलाई हिन्दूवादीहरूले थारो गाईलाई गौमाता भनेर दानापानी खुवाए जस्तो भएको बताएका छन् ।

गोकर्णेश्वर नगरपालिकाको नगर स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा सहअध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने- ‘नेपालमा पुरानो ब्राण्ड भन्दै देशको विकास र समृद्धिका लागि जनताले पुराना दलहरूलाई पटक पटक सत्तामा पुर्याए तर उनीहरुले जनतालाई केही दिएनन् त्यस्ता दलहरुले कसरी गर्ला र नेपालको बिकास ।’ उनले पुराना दलहरूबाट जनताले आजसम्म अभाव, गरिबी र बेरोजगारी बाहेक केही नपाएको तर्क गर्दै भने, ‘थारो गाई ब्याउँदैन, नेकपा र काङ्ग्रेसबाट देश चल्दैन ।’

नेता श्रेष्ठले पुराना दलहरूको जग हल्लिसकेको भन्दै अब आउने निर्वाचनमा तिनीहरूको छानो पनि भत्किने बताएका छन् । काङ्ग्रेस र कम्युनिष्टले अगाडी सारेको समाजवाद र जनवादको विकल्पमा अब सङ्घीय समाजवाद लिएर आजैदेखि जनताको घरदैलोमा जानुपर्ने बताए ।

उनले गोकर्णेश्वरको प्रत्येक वडामा ससफोको संगठन विस्तार गर्न पनि आग्रह गरे । गोकर्णेश्वर नगरपालिकाका युवा नेता श्रीकृष्ण नगरकोटीको अध्यक्षतामा भएको उक्त भेलामा ससफो, नेपालका राजनीतिक समिति सदस्य नवराज दाहालले ससफो नेपाल सबै जाति जनजातिको साझा पार्टी भएको बताए भने केन्द्रीय सदस्य आङकाजी शेर्पाले राज्यमा सबैको पहुँचमा जोड दिएका थिए ।

Loading...