यस्तो जलपमा छिराए महिलाले काठमाडौं विमानस्थलमा यति धेरै सुन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै हुने तस्करीका रोचक कथा पत्ता लाग्दै गएका छन् । तस्करहरुले विभिन्न कला प्रयोग गर्दै नुनदेखि सुनसम्म तस्करी गर्दै आएका छन् । ३३ केजी सुनकाण्डले नेपाल प्रहरीमै ठूलो खैलाबैला मच्चाएपछि पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुनको तस्करी भने रोकिएको छैन । त्यसपछि पनि अनेक कला र शैली प्रयोग गरेर सुन भित्र्याउने क्रम जारी छ ।

यसैक्रममा पछिल्लो समय पाँच केजी सुनसहित ४ जना भारतीय नागरिक टीआइएमा समातिएका छन् । पक्राउ पर्नेमा तीन महिला र एक युवक थिए । उनीहरुले सुन ल्याउन प्रयोग गरेको कलादेखेर भन्सार कर्मचारीदेखि प्रहरी समेत चकित परेको छ । चार जना भारतीय नागरिकले पाँच केजी सुन चिन्दै नचिनिने गरी त्रिअविबाट सुन छिराउन सफल भए । प्रहरीको एक टोलीले विशेष सूचना पाएपछि खोतल्दै जाँदा उनीहरु समातिए । त्रिअविको सबै जाँच ढोका पास गरेर उनीहरु बाहिर निस्कन समेत सफल भए । बाहिर पार्किङस्थलमा आइपुगेपछि जब उनीहरु समातिए, त्यसपछि उनीहरुले सुन ल्याउने अनौठो तरिका खुल्यो ।

यसरी छिपाइएको थियो सुन

चैत २१ गते थाई लाइन एअरको फ्लाइट नम्बर एसएल २२० को जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । सो जहाजबाट सबै यात्रुहरु झरेर गाडी चढे । जहाज पार्किङ वे बाट यात्रुहरुलाई ल्याएर अध्यागमन आगमन एरियातिर गाडीले छोड्यो । तिनै यात्रुहरुमध्ये थिए चार जना भारतीय नागरिक । प्रहरीलाई सुन आउने कुराको अग्रिम सूचना थियो । सोही आधारमा प्रहरीले उच्च निगरानी राखेको थियो । प्रहरीको विशेष टोलीले नयाँ पार्किङ एरियामा आइपुगेका चारजनालाई शंका लागेर सोधपुछ ग¥यो । उनीहरुको साथमा भेटियो अचम्मको सुन ।

उनीहरुले सुनलाई चिन्नै नसकिने गरी जलप लगाएर राखेका थिए । फलाम र एल्मुनियको जलप लगाएर बनाइएका गहना हेर्दा सुन हुन भन्ने कसैले पत्याउदैनथ्यो । प्रहरीले फलाम र एल्मुनियमका बाला र सिक्री भेटेपछि त्यसैलाई नियन्त्रणमा लियो । त्यसलाई प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइयो । अन्ततः त्यो सबै सुन हो भन्ने थाहा भयो ।

त्यसरी अवैध रुपमा सुन ल्याउने मध्येमा थिइन राहदानी नम्बर टी२९९०२७ भएकी ४४ वर्षीय सुनिता । उनको साथमा थियो ९० लाख १८ हजार बराबरको ६ थान बाला, २ थान सिक्री ।
त्यसैगरी राहदानी नम्बर एस०९२१७०३ भएकी ४१ वर्षीय बबिता गर्ग । उनको साथमा थियो ९० लाख बराबरको ६ वटा सुनका बाला, २ वटा सुनका सिक्री । त्यस्तै राहदानी नम्बर जेड४६०९४८४ भएकी ४६ वर्षीय सरिता जैन । उनको साथमा थियो ९० लाख बराबरको ६ वटा सुनका बाला र २ वटा सुनको सिक्री ।
त्यसैगरी राहदानी नम्बर आर९९१९७२७ भएका १९ वर्षीय जतिन जैन । उनको साथमा थियो २५ लाख ३४ हजार बराबरको एउटा बाला, एउटा सिक्री ।

प्रहरीले ती सबैलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

Loading...