सिकेलाई तेल, विप्लवलाई जेल र देशमा रेलको भेल

आज नेपालको राजनीतिक आकाशमा कालोबादल मडारिन थालेको छ । देश अग्रगमन र पश्चगमनको दोबाटोमा उभिएको छ । जनताको अधिकारहरु विस्तारै खोसीदै गएको छ । भ्रष्टाचार र बेथितीले देश आक्रान्त छ । यो बेला जनताको आक्रोसको भेल उर्लीए को कहाँ पुग्ने हुन ठेगान छैन ।

अबोध नेपालीहरुको रगतको आहलमा तैरीदै जन्मिएको नेपालको संविधान २०७२ ले देशलाई द्वन्द्वतिर धकेलेको छ । आज देशको अवस्था सुकेको खरबारी जस्तो छ । मुलुक आर्थीकरुपले अबस्था टाट पल्टिएको छ । मुलुकको कमजोर अवस्थाको फाइदा उठाउदै वैदेशिक शक्तिहरुले चलखेल गरिरहेका छन् ।

एकाथरी मान्छेहरुले हो हल्ला मच्चाए जस्तो न त सम्बृद्धि आयो न त पानीजहाज नै । मोटरबोट उदघाटनको रमिताले दुनिया हँसाएको छ । हिजो पञ्चायतमा विकासको मूल फुटाउ भन्ने नारा थियो । अहिले सम्वृद्ध नेपाल सुखी नेपालीको नारासँगै समाजवादको अलापले देशमा खतराको संकेत गरेको छ ।

विप्लव नेतृत्वको नेकपा अब प्रतिबन्धित नेकपा भएको छ । यो घटनावृतले प्रचण्ड पतनको अन्तिम अध्याय थालनी भएको छ । कम्युनिष्ट भन्नेहरुलाई नै प्रयोग गरेर कम्युनिस्टहरु सिध्याउने साम्रज्यवादी योजनाको प्रयोग नेपालमा हुँदैछ । छिमेकी भारतको पश्चिम बंगालमा सर्मनाक हार बेहोरेको कम्युनिष्टहरु र झारखण्डको जंगलबाट सहर पस्न नसकेको भाकपा माओवादीहरु हविगत सरकारी र प्रतिबन्धित नेकपाको लागि एक नजिर हुन सक्छ । महाभारतकथाका पात्र कौरव र पाण्डवहरु आखिर दाजुभाइ न हुन । तर, किन मच्चाए होला महाभारत ? त्यत्रो युद्धका सारथी थिए कृष्ण तर उनले किन खोजेनन् हस्तिनापुरको सिंहासन सत्य र तथ्यको थाहा चाहिएको छ आजको नेपाली राजनीतिमा । कुनै पनि राजनीतिका मुद्दाहरुलाई साधनले हल गर्ने कि साध्यले हल गर्ने सवाल यही हो । हुनत नेपालमा कम्युनिष्ट खुल्ला पनले धेरै बिग्रिएको छ । तर, जेल नेल दमन र धरपकडले कम्युनिष्टहरु मासिएको होइन मौलाएको छ । जनप्रतिरोधको छाल उर्लिएको छ । इतिहासका तथ्यहरुले त्यही देखाउँदछ । नेपालका राजनीतिक दलहरु आजसम्म सबै शसस्त्र संघर्ष र हत्या हिंसाको विरासतबाट आएको दृष्टान्त छ । चाहे संसदवादी हुन कि सामन्तका सन्तान राजा महाराजहरु ।

नेपाली राजनीतिको सत्तामा उक्लिएपछिको अनिवार्यकर्म भनेको सिहदरबारमा फोटो झुण्डयाउनु मात्र होइन दक्षिणको दर्शन गर्नु र हिमाली गंगाजलले मालिकको पाउ पखाल्नु पनि त हो । नेपालमा २००७ सालपछि आजसम्म नेपालको हितविपरित भएका सन्धि सम्झौताले जलस्रोत माथिको विदेशी हस्तक्षेप र लुटपाटको कहालिलाग्दो तथ्य छ नेपाली राजनीतिमा । आज कम्युनिष्ट पार्टीको झण्डा हल्लाएर सिहदरबारको सिहासनमा उक्लिएर देश लुटने र जनता चुस्नेहरुले सडक र गाउ गल्लिमा हिडनेहरुलाई लुटेर भन्न कति पनि सुहाउँदैन । नेपालमा सत्य र तथ्यको चित्र केलाउने हो भने असली लुटेरा को हो ? प्रमाण आफै बोल्छ, विमान खरीद प्रकरण, उपचारको नाममा राज्यकोष दोहन, एनसेल कर छुट प्रकरण, कर फछ्र्यौट आयोग चुडामणीसँग भाग शान्ति लिने महत ओली साझेदारीको शिकार लुम्बध्वज महत र उमेश ढकाल बनेको दुनियालाई थाहा छैन र ?

आज देशभर रोमियो अप्रेशन झल्काउने गरी विप्लव नेकपा समर्थित गाउँवस्तीहरुमा सादा पोशाकका प्रहरीहरुले दमन चलाएको छ । के यो दमनको हिसाब प्रतिरोधमा हुन थाल्यो भने कस्तो थिती आउला के सिहदरबारमा उक्लिएका शासकहरुले कल्पना गरेका छन् । नेपालको राजनीतिक संकट भनेका विप्लव नेतृत्वको नेकपा हो कि क्षेत्रीय द्वन्द्व र बदलिएको शक्ति सन्तुलन हो । गृहयुद्ध निम्त्याउने कि राष्ट्रिय प्रतिरोध युद्ध चर्काउने । भूराजनीतिक सन्तुलन ख्याल गर्न जरुरी छ । एशिया प्यासिफिकको नाममा ५०औ अर्ब डलरको खोलो कसले के स्वार्थमा बगायो । हरियो डलरले ककसको कलर बदलिएको छ । किन कुर्लदै छन् भन्ने लेखाजोखा हुन जरुरी छ । २०÷२५ हजारमा बिक्ने खरदार सुब्बा समातेर अख्तियार बसेको देशमा लाख र करोड डलरले को को नेता मन्त्री पल्टने हो हेर्न बाँकी छ । तर, पश्चिममाहरुको लगानीको खोलो बग्नु र नेपालमै गर्नुको मुख्य कारण चीन विरोधी मिसन र कम्युनिष्ट विरोधी अभियान चलाउनु हो । त्यो बाहेक केही होइन । आज तेस्रो विश्वलाई दास बनाउने अमेरिकी मार्शल प्लान हो । तिब्बतमा दलाई लामा बोकेर क्रिश्चियानिटी बिस्तार गरेका पश्चिमा गैरसरकारी संस्थाप्रति अनुदार नीति र चर्चहरुमाथि आक्रामक एक्सनमा सी उदयपछिको चीन उत्तिकै अघि सरेको होइन । पाकिस्तानमा अमेरिका विरोधी मुस्लिम र चीन सर्मथकहरुमाथि हमला गर्ने नीति लिएको पश्चिममा पार्शल प्लान, भारतमा मोदी र हिन्दु विरोधी अभियान चलाएको पश्चिममा साम्राज्यवादीहरुले पुटिन मोदी सैन्य सम्झौतापछि व्यापार प्रतिबन्धको हल्ला मच्चाएर भारतको टाउको दुखाएको छ ।

छिमेकी देश भारत र पाकिस्तान गोलावारी चल्दा चुइक्क नबोल्नेहरु नेपाली नेताहरुलाई भेनेजुयलाको ज्वालाले किन पोलेको होला ? र वक्तव्यवाजीमा उत्रिएका थिए । उछिन पाछिन गरेर । आज जनताले कुखुरा बाख्रा किन्दा कर लिने सरकार बहुराष्ट्रिय कम्पनी र दलालहरुलाई किन छुट दिन्छ । अदालतको फैसला जनताको दबादलाई दबाउन केही दल र केही नेता किनेर राज्यलाई चुनौती दिनहरुलाई त उखानै छ नि काँक्रो चोरलाई मुडकी सास्ती न गरेर के गर्नु त ? तर, एनसेल त निमित्त निहुँ हो चुरो समस्या राजनीतिको हो । भष्टाचार विकृति विसङ्गति र सामाजिक विभेदको उन्मुलन गरे । समाजवादको रेल हरर दौडाएर विकास र सम्वृद्धिको मूल फुटाए त विद्रोहको आगो आफै मत्थर हुन्छ तर किन सरकार त्यही विद्रोहको आगोमा घ्यू थप्ने काम गर्दैछन प्रश्न यहाँ नियतको देखिन्छ ।

सिकेलाई तेल, नेकपालाई जेल र चिनिया रेलले समाजवाद उतिसारो मौलाउन नसक्ला कि नेपालमा ? घरबारीको आगो खरबारीमा सल्काउन हेगमा पुगेका पुर्वछापामार लेनिन विष्ट हुन या गोरखाकी गंगामायाको पासपोर्टमा प्रचण्डले आफनो गलामा झुण्डिएको हेगको तरबार टल्केको देखेर सपनीमा बर्बराउलान कि एमालेमा विलय हुँदा खुसीले गदगद होलान् । तर बगरेको तरबार सामुको खसीको याचना हुन सक्छ प्रचण्डलाई यो अस्त्र ।

सिक्किम विलयपछि सिक्किम बुझाउने काजी लेन्डुपको भन्दा बेहाल हुन सक्छ आत्मसर्मपणकारीहरुको । प्रशासनिक हल गर्ने भन्दै झुटा मुद्दा जेल नेलले मान्छेहरुमा मर्दै गरेको प्रतिरोधी भावनालाई थप विद्रोही र उद्देलित बनाउछ । अब नेकपा विद्रोह न कानुनको साहारा र न हतियारको भरोसा केहीमा पनि हल हुन सक्दैन । त्यसका लागि आर्थिक सामाजिक र राजनीतिक रुपमा एक फरक आयामको विकास जरुरी छ । यो कुरा बहसमा बिर्को लागेको हो त सरकारी कमरेडहरुको ।

न्यायालय कसरी सेटिङमा चल्छ भन्ने कुराको प्रमाण हो सिके प्रकरण । सिके कसले किन जन्मायो र किन मिसायो रातारात ? विद्रोही पृथकतावादी विखण्डनकारीलाई सरकारी समाजवादको प्रवक्ता बनाउने विचौलियाहरु एकै शक्तिकेन्द्रको योजनामा परिचालित छन् । राष्ट्रवाद र विखण्डनवादको जनमत संग्रहको गठजोडले ‘न रहेगा बास नबजोग बाँसुरी’ हुन सक्छ देश । आज मधेशको नाममा हुने राजनीति नेपालको एक प्ले कार्ड हो । न कुनै राज्य हो त्यो एक प्रशासनिक इकाइ हो । त्यही कार्ड खेलेर हरेकले स्वार्थ पूरा गरेका छन् । हिजो माओवादी जनयुद्ध र जनआन्दोलनपछि गौर नरसंहार, तराई आन्दोलन, लागयतका घटनाहरुको दृष्टान्त र तराईको समाजशास्त्र जोेडेर हेरेमात्र सही निष्कर्षमा पुग्न सकिन्छ ।

आजको देश सरकार र विद्रोहीहरुको अवस्था हेर्दा सर्प भ्यागुत्तो र गंगटोको कथा र नेपालको ब्यथा उस्तै लाग्छ । कुनै बेला एक खोलामा सर्प भ्यागुत्तो र गंगटा बसेका रहेछन् । एकदिन खोलामा ठूलो बाढी आउने संकेत पाएपछि गंगटाले भनेछ ‘मैले यहाँ सङ्कट आउने देखेको छु । हामी सुरक्षित बसौ ।’ उसको कुरालाई होच्याउदै भ्यागुत्तोले भनेछ, ‘तिमीसँग त एक मात्र बुद्धि रहेछ । तर, मसँग दस बुद्धि छन् । केही हुँदैन खोला छोडेर गइन्न ।’ अनि झन सर्पले भनेछ, ‘मसँग सय बुद्धि छन ।’ केही चिन्ता नगरौ भनेछ । राति अकस्मात खोलामा ठूलो बाढी आएछ । बाढी छेक्न खोलामा तेस्रो परेर बसेका सर्प क्षत विच्छेद भएछ । भ्यागुत्तो मुडाले च्यापेर उताने परेछ । गंगटोले कुनाकन्तरातिर पसेर ज्यान जोगाएछ ।

भोलिपल्ट बिहान खोलाको किनार वारीपारी गर्दै गंगटाले भन्दैरहेछ, ‘सय बुद्धि ताना र माना, दस बुद्धि उत्ताना टाङ एक बुद्धि आउन र जान । आखिर उस्तो नहोला भन्ने के भर । जनसमरको छालले को को उत्तानेटाङ लाग्ने हुन ? देश के हुने ? परीक्षाको घडी हाम्रो सामु छ । नेताहरुले बेलैमा सोच्न जरुरी छ ।

Loading...