क्रिष्टल हिमालमा हिमपहिरोमा परी ३ जना वेपत्ता, प्रहरी भन्छ उद्धारमा जान सकिन्न

डोल्पा, २२ चैत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा पर्ने क्रिष्टल हिमाल आरोहणका लागि गएको टोली हिमपहिरोमा परेर वेपत्ता भएको छ । हिमपहिरोमा परेको पाँच दिन बित्दा पनि अहिलेसम्म उद्धारका लागि कोही पुग्न सकेका छैनन । क्रिष्टल हिमाललाई दोस्रो कैलाश पर्वत मानिन्छ । हिउँ परेका बेला यो पर्वत घुम्दा पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

शेफोक्सुण्डो गाउँपालिकामा पर्ने क्रिष्टल हिमालमा यही चैत १७ गते ठूलो हिमपहिरो गएको त्यस क्षेत्रका स्थानीयवासी बताउँछन् । पहिरोमा परी अहिलेसम्म ३ तीर्थयात्री बेपत्ता भएको बताइएको छ । पाँच दिनसम्म पनि उनीहरु सम्पर्कमा नआएको भए पनि अझै पनि उनीहरुको खोजी कार्य सुरू भएको छैन ।

क्रिष्टल हिमाल शे–फोक्सुण्डो गाउँपालिका–३ मा पर्दछ । हिमपहिरोमा परेका मध्ये फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको बताइएको छ । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश पर्वत पनि भनिन्छ । यहाँ धेरै तिर्थयात्री तथा हिमाल आरोहण गर्नेहरु पुग्ने गर्दछन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले अहिले पनि ठूलो हिउ परिरहेकाले खोज्न जान सकिने अवस्था नरहेको बताएको छ । डोल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख अवदेश कुमार विष्टले हिउ नपग्लिदासम्म खोज्न जान नसकिने बताए । उनले अहिले जाँदा फेरि अर्को दुर्घटना हुनसक्ने बताए । आफूले प्रदेश प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराएको पनि बताए ।

Loading...