प्रहरीले सार्वजनिक गरेका एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने यी प्रहरी

सप्तरी, २१ चैत । एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो र दुई नं. प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकाहरुमा दुई प्रहरी, एक शिक्षकसहित ६ जना रहेका छन् । प्रदेश २ मा चैत १४ गते भएकाे विज्ञान र १५ चैतमा भएकाे सामाजिक विषयकाे प्रश्नपत्र बाहिरिएर सामाजिक सञ्जालमा समेत अाएकाे थियाे ।

सार्वजनिक गरिएकाहरुमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु दुबैजना सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा जवान पदमा कार्यरत् थिए । त्यसैगरी पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय, कल्याणपुरमा रहेकाे जनता मावि बनिया र रादु मावि कल्याणपुरमा राखिएका प्रश्नपत्र अाउट भएकाे छानविनबाट देखिएकाे छ । ती दुइृ विद्यालयमा राखिएका प्रश्नपत्रकाे सुरक्षार्थ खटिएका प्रहरी जवान नै प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको छानविनबाट देखिएकाे बताइएकाे छ ।

प्रश्नपत्र आउट भएको विषयमा अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । एक प्रहरी अधिकारीले भने, ‘‘प्रश्नपत्र राखेको कोठाको साँचो हवल्दारसँग थियो । ती प्रहरीले हवल्दारको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेर इमोमार्फत् आफ्नो भाइलाई पठाएको देखियो ।’’ प्रहरी जवानले प्रश्नपत्र निकालेर फोटो खिचिसकेपछि उनीहरुले इमोमार्फत् सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु र भाइरल भएको एक अधिकारीले बताए । प्रहरीले परीक्षार्थी प्रहरीबाटै अनुसन्धान सुरु गरेको थियो । विद्यार्थीले फेसबुक, भाइबर, ह्वाट्स एप, इमोलगायतबाटै आफ्ना साथीहरुलाई प्रश्नपत्र पठाएको खुलेको छ ।

प्रहरीले पक्राउ परेकाबाट बरामद गरेका मोबाइलको अध्ययन गरेको थियो । त्यसको प्राविधिक विश्लेषण रिपोर्ट आएपछि सबै कुरा थाहा भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्यार्थीबाटै विभिन्न व्यक्तिको फेसबुक, भाइबर, ह्वाट्स एप लगायतसमक्ष प्रश्नपत्र पठाइएको खुलेको जनाएको छ । बरामद गरिएका मोबाइल र प्रश्नपत्रको फोटोलाई केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा ल्याएर अध्ययन गरेको थियो ।

प्रश्नपत्र निकाल्नेले प्रश्नपत्र निकालेर फोटो खिचेर सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु भएको प्रहरीले जनाएको छ ।

Loading...