यसरी पत्ता लागे एसईई परीक्षाका प्रश्नपत्र आउट गर्नेहरु

काठमाडौं, २१ चैत । एसईई परीक्षाको प्रश्नपत्र आउट गर्नेहरु पत्ता लागेका छन् । प्रश्नपत्र आउट भएको विषयमा छानविन गरिरहेको प्रहरीले दोषी पत्ता लगाइसकेको दावी गरेको छ ।

प्रहरीले एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई आजै सार्वजनिक गर्ने तयारी पनि गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्ने बताएको छ । त्यसका लागि आजै दिउसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यही चैत १४ गते विज्ञान विषयको र चैत १५ गते सामाजिक अध्ययन विषयको प्रश्नपत्र आउट भएपछि त्यसको व्यापक विरोध भएको थियो । सो क्रममा प्रदेश सरकार र संघीय सरकारका मन्त्रीहरुबीच आरोपप्रत्यारोप पनि चलेको थियो । विवाद उठेपछि संघीय शिक्षा तथा प्रविधि मन्त्रालयले बाँकी परीक्षाको नियमित तालिका स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको थियो । शिक्षा मन्त्रालयले प्रदेश २ मा स्थगित परीक्षा यही चैत २२ गतेदेखि पुनः सुरु हुने घोषणा गरेको छ ।

प्रश्नपत्र आउट भएको विषयमा अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको पत्ता लागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रश्नपत्र आउट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिरहा कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित ७ जनालाई पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका प्रहरी जवानबाटै प्रश्नपत्र बाहिरिएको खुल्यो । एक प्रहरी अधिकारीले भने, ‘‘प्रश्नपत्र राखेको कोठाको साँचो हवल्दारसँग थियो । ती प्रहरीले हवल्दारको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेर इमोमार्फत् आफ्नो भाइलाई पठाएको देखियो ।’’ प्रश्नपत्र आउट गर्ने प्रकरणमा एक शिक्षक, दुई प्रहरीसहित अन्य ४ जना पनि पक्राउ परेका छन् । उनीहरुलाई सिआइबीको केन्द्रीय कार्यालय काठमाडौं ल्याएर छानबिन गरिएको थियो र बिहीबार नै सिराह लगेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताइएको छ ।

इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । प्रश्नपत्र निकालेर फोटो खिचिसकेपछि उनीहरुले इमोमार्फत् सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु र भाइरल भएको एक अधिकारीले बताए । प्रहरीले परीक्षार्थी प्रहरीबाटै अनुसन्धान सुरु गरेको थियो । विद्यार्थीले फेसबुक, भाइबर, ह्वाट्स एप, इमोलगायतबाटै आफ्ना साथीहरुलाई प्रश्नपत्र पठाएको खुलेको छ ।

प्रहरीले पक्राउ परेकाबाट बरामद गरेका मोबाइलको अध्ययन गरेको थियो । त्यसको प्राविधिक विश्लेषण रिपोर्ट आएपछि सबै कुरा थाहा भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्यार्थीबाटै विभिन्न व्यक्तिको फेसबुक, भाइबर, ह्वाट्स एप लगायतसमक्ष प्रश्नपत्र पठाइएको खुलेको जनाएको छ । बरामद गरिएका मोबाइल र प्रश्नपत्रको फोटोलाई केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा ल्याएर अध्ययन गरेको थियो ।

प्रश्नपत्र निकाल्नेले प्रश्नपत्र निकालेर फोटो खिचेर सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु भएको प्रहरीले जनाएको छ ।

Loading...