बहालवाला प्रशासनका कर्मचारी नै न्यायाधिशमा सिफारिस

सिफारिस न्यायाधिशका नाम सुनेर न्याय क्षेत्रमा व्यापक हलचल

काठमाडाैं, २० चैत । न्याय परिषद्को न्यायाधीश सिफारिस विवादित बनेको छ । मंगलवार परिषद्ले सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ गरी २३ न्यायाधीश सिफारिस गरेको थियाे । सार्वजनिक भएका नाममध्ये अधिकांसको क्षमतामा प्रश्न चिन्ह खडा भएपछि सिफारिस विवादित बनेको हो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलकी भान्जीदेखि परिषद् सदस्यको ज्वाईसम्म न्यायाधीश सिफारिस भएपछि न्याय क्षेत्रमा असन्तुष्टि चुलिएको छ । कानुन व्यवसायीहरुले राजनीतिक र पारिवारिक भागबण्डामा कोटा बाढेर न्याय परिषद्ले न्यायपालिकाको हुर्मत काढ्ने काम गरेको आरोप लगाएका छन । याे सिफारिसमा न्याय क्षेत्रमा कुनै अनुभव नै नलिएका प्रशासनिक कर्मचारी समेत परेका छन् । 

कानुन व्यवसायीको कोटामा प्रशासनको बहालवाला कर्मचारी समेत न्यायाधीश सिफारिसमा परेका छन । सिफारिसमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सानाेठिमीमा कार्यरत प्रशासनकी एक कर्मचारी समेत परेका छन् । सीटीइभीटीकी कर्मचारी रेणुका साह उच्च अदालतको लागि न्यायाधिश सिफारिस भएपछि उनकै सहकर्मीहरु चकित भएका छन् । याे त गर्नेलाई भन्दा हेर्नेलाई लाज… झैँ भएको उनकै एक सहकर्मी बताउँछन् ।

मंगलवारको परिषद निर्णयबाट न्यायाधिश सिफारिस भए तापनि उनलाई सोको जानकारी पहिल्यै रहेको उनी निकटका सहकर्मी बताउँछन । सिफारिस हुनु एकदिन अगाडि उनले सोमबार नै सीटीइभीटीमा पदबाट राजिनामा दिएको पत्र बुझाएको बताइएको छ । 

उनका सहकर्मीका अनुसार साह परिषदको कानुन शाखामा समेत कहिल्यै बसेकी छैनन । उनी जागिरे जीवनको दुई दशकमा बढुवा हुँदै उपनिर्देशक भएकी हुन । परिषदका प्रोजेक्टहरु चहार्दै हिड्ने साह अहिले ‘सक्षमता’ नामको युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित प्रोजेक्टको प्रशासन प्रमुख रहेकी छिन । यसअघि उनी एसियाली विकास बैंकको आर्थिक सहयोगमा संचालित सीप विकास परियोजनामा कार्यरत रहेकी थिइन् ।

उच्चमा सिफारिस साह पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । पूर्वप्रधानन्यायाधीशको छोरी भएकै कारण उनले बुबाको नामको दुरुपयोग गरी ‘सक्षमता’ मा युरोपियन युनियनबाट आफ्नो ‘इन्ट्री’ गराउन सफल भएको चर्चा सीटीइभीटीमा हुनेगर्छ । तिनै साह उच्च अदालतमा समेत कानुन व्यवसायीको कोटामा न्यायाधिश सिफारिस भएपछि सीटीइभीटीका कर्मचारी आश्चर्यचकित भएका छन ।

सीटीइभीटीका एक कर्मचारीले ननस्टपखबरसँग कुरा गर्दै भन्छन, ”हामीलाई कहिल्यै उनले अदालतमा गएर बहस गरेको समेत थाहा छैन । यदि गरेको भए त्यो उनको हाजिरीले बताउला । साथी न्यायाधिश हुँदा जति खुसी लागेको छ त्यो भन्दा बढी कस्ता व्यक्तिहरु न्यायाधिश हुने रहेछन् भन्ने आँखैले देख्नुपरेपछि दु:ख पनि लागेको छ ।”

उच्च अदालतको न्यायाधीसका लागि सिफारिस गरिएकामध्ये अर्का एक उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलकी भान्जी छन् । मन्त्री पाेखरेलकी भान्जी नीलम पौडेललाई मन्त्रीकाे नातेदार भएकैले सिफारिसमा पारिएको न्यायक्षेत्रका विज्ञहरु बताउँछन । त्यसैगरी उच्च अदालतकै न्यायाधीशका लागि सिफारिस नवराज थपलिया न्याय परिषद्का सदस्य रामप्रसाद सिटौलाका ज्वाइँ हुन्।
त्यस्तै, सर्वोच्चको न्यायाधीसका लागि सिफारिस भएका डा. मनोज शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् । शर्मालाई बनाउन प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाले अडान राखेकाे बताइन्छ ।
सिफारिस भएका अरुहरुमा पनि योग्यता र वरिष्ठतालाई मिचेर राजनीति भागबण्डा र नातागोताका आधारमा न्यायाधीस सिफारिस गरिएको भन्दै सामाजिक सञ्जालमा कानुन व्यवसायीहरुले नै कडा विरोध गरिरहेका छन ।

 

Loading...