बजेट तयारीका लागि गोप्य छलफल गर्दै सरकार

खस्यौली, १८ चैत । अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेट कस्तो बनाउने विषयमा छलफल शुरु भएको बताएका छन् ।

रुपन्देहीको देवदह नगरपालिका–७ स्थित शीतलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसको एघारौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले बजेट निर्माणका लागि भैरहवा आएको र बजेटसँग सरोकार राख्ने निकायसँग छलफल गर्न लागिएको जानकारी दिए ।

“म खासमा बजेट निर्माणका लागि यहाँ आएको हो तर तपाईहरुसँग पनि साक्षात्कार गर्ने अवसर पाएर खुशी भएको छु,” अर्थमन्त्री खतिवडाले भने । उनले शिक्षामा रुपान्तरण आवश्यक भएको उल्लेख गर्दै ज्ञान, सीप र उत्पादनसँग जोडने शिक्षा नीतिले नै कायापलट हुन सक्ने बताए ।

अर्थमन्त्री खतिवडाले अहिलेको शिक्षा प्रणालीलाई प्राविधिक शिक्षा प्रणालीमा रुपान्तरण गरेर प्राविधिकहरु उत्पादन गर्नुपर्ने धारणा राखे । उनले कृषि, वातावरण, सडक, पुल निर्माण लगायतका क्षेत्रमा प्राविधिकको खाँचो भएको औँल्याउँदै सम्पूर्ण स्थानीय तहमा प्राविधिक शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्ने तयारी भएको बताए । “अहिले पनि दुई तिहाइ शिक्षा साधारण शिक्षा मात्रै छ, यसलाई विस्थापित गरेर गरेर प्राविधिक शिक्षामा जोड दिनुपर्छ,” अर्थमन्त्री खतिवडाले भने ।

सांसद छविलाल विश्वकर्माले रुपन्देहीमा देखिएको सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्यालाई सधैँभरि अन्त्य हुने गरी समाधान गर्न अनुरोध गर्दै देवदहमा बौद्ध विश्वविद्यालय निर्माणका लागि भौतिक पूर्वाधारको काम छिटो टुङ्गो लगाउनुपर्ने बताए । क्याम्पसका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतमा सो कार्यक्रम भएको थियो । विसं २०६५ देखि शिक्षा र व्यवस्थापन सङ्कायमा क्याम्पसले स्नातक तहमा अध्यापन गराउँदै आएको छ ।

Loading...