हावाहुरीबाट मृत्यु हुनेका परिवारलाई जनही ३ लाख दिने प्रदेश सरकारको घोषणा

काठमाडाैं, १८ चैत । हावाहुरीका कारण ज्यान गुमाएकाका परिवारलाई प्रदेश नम्बर २ सरकारले रातहस्वरूप तत्काल जनही तीन लाख रुपैयाँ दिने घाेषणा गरेको छ।

सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को आपतकालीन बैठकले उक्त निर्णय गरेको हो। प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च पनि प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि पहल गर्ने निर्णय भएकाे छ।

हावाहुरीका कारण बारा तथा पर्सामा ठूलो धनजनको क्षति भएको प्रति प्रदेश सरकारले गहिरो दुःख प्रकट गरेको छ। हावाहुरीमा परेकाहरूको उद्धार तथा घरबासविहीन भएकाहरूको पुनर्वासमा पनि प्रदेश सरकार सक्रिय भएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।

त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिए । आइतबार साँझ असीना पानीसँगै आएको भीषण हावाहुरीका कारण बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको छ। बारामा मात्रै २६ जनाको ज्यान गएको छ। घटनामा पाँच सयभन्दा बढी घाइते भएका छन्।

Loading...